कालोबजारी हुन नदिइ अप्ठेरोमा सेवा दिन तयार छौं : भाटभटेनी

कालोबजारी हुन नदिइ अप्ठेरोमा सेवा दिन तयार छौं : भाटभटेनी

काठमाडौं,२९ फागुन ।

कोरोना संक्रमणको कारण देखाउँदै बजारमा ग्याससहित खाद्यान्नमा कालोबजारी भइरहेका बेला भाटभटेनी सुपरमार्केट्सले उपभोग्य वस्तुको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरेको छ ।

भाटभेटेनी सुपरमार्केट्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले मुलुक अप्ठेरोमा परेका बेला भाटभटेनीले भूकम्पका बेलामा जस्तै सहयोग गर्न तयार रहेको बताए ।
उनले कुरा गर्दै भने, “भूकम्पका बेला देश समस्यामा परेको थियो । बजारमा १३ रुपैयाँको चाउचाउलाई ४५ रुपैयाँसम्म बिक्री भएको थियो । त्यसबेला हामीले भाटभटेनी खोलेर सही मूल्यमा सेवा दिइरहेका थियौं । अहिले पनि हामीले १० महिनासम्म यस्तै अवस्थामा सेवा दिन तयार छौं ।”

उनले अप्ठेरो परेका बेला भाटभटेनीले बजार मूल्यभन्दा एकरुपैयाँ पनि बढी नलिइ सेवा दिन जहिल्यै तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।

“चीनबाट सुरु भएको कोरोनाभाइरसको संक्रमणले अहिले विश्वबजारमा असर पारेको छ,” उनले भने, “चीनमा पनि ठूला सुपरमार्केट्सले नै समस्या परेका बेलामा सेवा दिइरहेका छन् । हामी पनि कालोबजारी हुन नदिइ सेवा गर्न प्रतिवद्ध छौं ।”

उनले भाटभटेनी आम नेपालीको मायाले नै यहाँसम्म आइपुगेको उल्लेख गर्दै अहिले देश र जनतालाई समस्या पर्दा सहयोग गर्नु आफ्नो दायित्वभित्रै पर्ने बताए ।

“भाटभटेनी यहाँसम्म आउनुको कारण नै आमजनता हुन्,” उनले भने, “देशलाई समस्या परेका बेला सहयोग गर्नु हामी व्यवसायीको कर्तव्य पनि हो ।”

भाटभटेनीले काठमाडौं उपत्यकाका विभिन्न ११ सहित देशका विभिन्न स्थानमा अहिले १८ वटा सुपरस्टोरबाट सेवा दिइरहेको छ । बाह्रखरीबाट साभार