राप्रपाले भ्रष्टाचार र धर्म परिवर्तनविरुद्ध देशव्यापी आन्दोलन गर्ने

राप्रपाले भ्रष्टाचार र धर्म परिवर्तनविरुद्ध देशव्यापी आन्दोलन गर्ने

काठमाडौं, २९ फागुन ।

पार्टी एकीकरणपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन अध्यक्षहरुले बिहीबार पदभार ग्रहण गरेका छन् ।

चाबहिलस्थित पार्टी कार्यालयमा बिहीबार उनीहरुले संयुक्तरुपमा पदभार ग्रहण गरेका हुन् ।

पार्टीले स्थानीय तहसम्म भ्रातृसंगठनको समायोजनको काम सकेर मुलुकको प्रमुख समस्याको रुपमा रहेको भ्रष्टाचार, धर्म परिवर्तनविरुद्ध देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको छ ।

हामीसित कुरा गर्दै राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले वर्तमान सरकारले भारी बहुमतको कदर नगरेको बताए ।

राष्ट्रमा सुशासनको नारा चर्कोरुपमा उठेपनि व्यवहारमा त्यो नदेखिएको भन्दै राणाले यस्तो बेला प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले खबरदारीको भूमिका खेल्न नसकेको आरोप लगाए ।

यस्तै, पार्टीका अर्का अध्यक्ष कमल थापाले पार्टी एकीकरणको सन्देशलाई स्थानीय तहसम्म पुुर्‍याउनु पार्टीको प्रमुख दायित्व रहेको बताए ।

उनले अब हिन्दुराष्ट्रको पुनःस्थापनाका लागि पार्टीले आफ्नो सम्पूर्ण शक्ति प्रयोग गर्दै जाने बताए ।

यसैगरी, अर्का अध्यक्ष डा। प्रकाशचन्द्र लोहनीले भ्रातृसंगठनहरुलाई विस्तार गर्दै आउँदा दिनमा देशको सशक्त राष्ट्रवादी शक्तिको रुपमा पार्टीलाई अगाडि लैजाने उल्लेख गरे ।