चट्याङ लागेर चारजनाको मृत्यु

काठमाडौं,३० चैत्र ।

बागलुङ, खोटाङ र संखुवासभामा चट्याङ लागेर चारजनाको मृत्यु भएको छ ।

बाग्लुङ नगरपालिका १३, गलुवाका २६ वर्षीय शंकर रिजालको चट्याङ लागेर शनिबार साँझ मृत्यु भएको हो । घरमा खाजा खाइरहेको अवस्थामा अचानक चट्याङ लागेर बेहोस् भएका उनको धौलागिरि अञ्चल अस्पताल उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै खोटाङ, केपीलाशगढी गाउँपालिका १, तोमानेमा चट्याङ पर्दा जितमान राईका १५ वर्षीय छोरा राजमणि राई र ३८ वर्षीया निर्मला विकको घटनास्थलमै मृत्यु भएको छ । चट्याङ लागेर सन्तबहादुर विकको १४ वर्षीया छोरी मनकला र ६ वर्षीय छोरा आसन घाइते भएकाले उपचारको लागि जिल्ला अस्पताल दिक्तेल पठाइएको प्रहरीले जनाएको छ ।

यस्तै संखुवासभा पाँचखपन नगरपालिका २, रिठेगाउँकी ५२ वर्षीया डम्बरकुमारी राईको चट्याङ लागेर मृत्यु भएको छ । आँगनबाट घरभित्र पस्ने क्रममा चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
प्रतिकात्मक तस्बिर ।