दाङका युवाले बनाए स्यानिटाइजर छर्कने स्वचालित मेसिन

दाङका युवाले बनाए स्यानिटाइजर छर्कने स्वचालित मेसिन

दाङ,३० चैत

कोरोना संक्रमणको जोखिम कम गर्न युवा वैज्ञानिक मार्सल रोकाले स्वचालित रूपमै स्यानिटाइजर छर्किने उपकरण निर्माण गरेका छन्। यसअघि विभिन्न प्राविधिक सामग्री र उपकरण बनाएका रोकाले अहिले मुल गेटमा जडान गरेपछि त्यसबाट भित्र छिर्दा स्वाचालित सेनिटाइजरको फोहरा छर्ने उपकरण तयार गरेका हुन्। यसलाई उनले ‘स्यानिटाइजर टनेल’ नाम दिएका छन्।

रोकाको नेतृत्वमा १० युवाको टोलीले स्यानिटाइजर टनेल तयार पारेका हुन्। उक्त टनेल पहिलो पटक घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेटमा जडान गरिसकिएको छ। रोकाले स्थापना गरेको संस्था मेल्टा टेक्नोलोजीले उक्त टनेल प्रतिष्ठानमा निःशुल्क जडान गरिदिएको छ।

मान्छे गेटमा पुग्नेबित्तिकै मेसिनको सेन्सरले थाहा पाउँछ र आवाज निकाल्दै ६ वटा नोजल ९प्वाल० बाट पूरै शरीरमा पर्ने गरी सेनिटाइजर छर्किने गरेको मार्शल रोकाले बताए। १० फिट लम्बाइ, ६ फिट चौँडाइ र आठ फिट उचाइँको टनेलमा मोटरसाइकल, स्कुटरलगायतका साधनसमेत सहजै प्रवेश गर्न सक्छन्। ‘भित्र पस्दा हेल्मेट फुकालेर, हात माथि गर्दै जानुपर्छ। यसो गर्दा शरीरका हरेक भागमा सेनिटाइजर पर्छ र किटाणु भए मर्छन,’ रोकाले भने, ‘मानिस गएपछि पाँच सेकेन्डसम्म नोजलबाट सेनिटाइजर आउँछ र त्यसपछि आफैं बन्द हुन्छ।’

उपकरण बनाउन स्थानीय सामग्रीहरूको प्रयोग गरिएको र यसका लागि एक लाख ५० हजार रुपैयाँ खर्च लागेको उनले बताए। उनका अनुसार एक जना मानिसलाई एक पटकमा ५० देखि ७० मिलिलिटर सेनिटाइजर लाग्ने र दैनिक एक हजार मानिस प्रवेश गरेमा ८६ लिटर खपत हुनेछ। टनेलमा एक हजार लिटर क्षमताको ट्याङ्की जडान गरी स्यानिटाइजर राखिएको छ। ‘स्यानिटाइजर सकिएपछि थप्नेबाहेक अरू केही गर्नु पर्दैन। सबै प्रविधि अटोमेटिक चल्छ,’ रोकाले भने, ‘सेनिटाइजर पनि हामीले नै उत्पादन गरिरहेकाले नियमित चलाउन समस्या छैन।’ १० दिनमा यस्ता १५ वटा टनेल तयार गर्न सकिने उनले बताएका छन्।