गणेशधाममा ३० बिघामा बनाइएको तलाउको ड्याम निर्माण गर्न बोलपत्र

चितवन, २८ मंसिर ।

भरतपुर–११ स्थित निर्माणाधिन गणेशधाममा ३० बिघामा बनाइएको तलाउको ड्याम निर्माण गर्न बोलपत्र आह्वान गरिएको छ । साढे पाँच करोडको लागतमा ड्याम निर्माण गर्ने गरी बागमती प्रदेश अन्तर्गतको जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, चितवनले बोलपत्र आह्वान गरेको हो ।
साविक गणेशस्थान भएर बगेको पुंगी खोलामा तलाउ बनाइएको छ । तलाउको बीचमा आइल्याण्ड निर्माण हुने छ । गणेशस्थानलाई धामको रुपमा विकास गर्न ०७५ मंसिरमा धनधान्याचल महायज्ञ गरिएको थियो । महायज्ञमा नौ करोड दान कबोल भएपनि हालसम्म जम्मा करिब दुई करोड रुपैयाँ संकलन भएको गणेशस्थान संरक्षण, सम्बद्र्धन समितिका अध्यक्ष दिनेशकुमार चुकेले बताए ।
गणेशधामको गुरुयोजना अझै तयार भएको छैन । डिजाइन परिवर्तन र ढिलासुस्तीका कारण गुरुयोजना तयार हुन ढिलाई भएको गणेशस्थान संरक्षण, सम्बद्र्धन समितिका अध्यक्ष चुकेले बताए । गणेशधाममा अहिले भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारबाट विनियोजित रकमले ३० बिघाको तलाउ र तलाउको छेउमा ट्रयाक निर्माण भएको उनले जानकारी दिए ।
गणेशधाम निर्माण गर्न ८० करोड लाग्ने अनुमान गरिएको छ । धाममा ३० फिट अग्लो गणेश मूर्ति बनाइने उनले बताए । साथै जल विनायक, शिव–पार्वती, कुमारको मूर्ति समेत बनाइने उनले जानकारी दिए । यसैगरी धाम क्षेत्रमा व्यवस्थित पार्किङ, पिकनिक स्पट, बोटानिकल गार्डेन, धर्मशाला लगायत निर्माण गरिने उनको भनाइ छ । दाताकै भरमा पाँच बर्षमा धाम निर्माण गर्ने लक्ष्य रहेको उनले बताए ।