
दैलेख,३० फागुन।
स्याल लखेट्न पड्काएको बन्दुकको गोली आफैंलाई लागेर दैलेखमा एक युवक घाइते भएका छन् । जिल्लाको नौमूले गाउँपालिका २ बस्ने बिर्खबहादुर शाही घाइते भएका हुन् ।
बाख्रा चराउन जंगल गएका बेला स्यालले बाख्रालाई आक्रमण गर्न खोजेपछि शाहीले स्याल लखेट्न पड्काएको बन्दुक आफैंलाई लागेको प्रहरीले जनाएको छ ।
उनको खुट्टा र हातमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रमुख नैनबहादुर साँवदले जानकारी दिए ।
घाइते युवक शाहीलाई उपचारका लागि स्वास्थ्य सेवा कार्यालय दैलेखमा ल्याइएको थियो । दैलेखमा उपचार सम्भव नभएपछि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश अस्पतालमा रिफर गरिएको निमित्त प्रमुख साँवदले बताए । घटनास्थलमा प्रहरीको टोली पुगेर थप अनुसन्धान थालेको उनले बताए ।