दादुरा रुवेला खोप अभियान सफल पार्न खैरहनीमा समिति गठन

दादुरा रुवेला खोप अभियान सफल पार्न खैरहनीमा समिति गठन

फागुन ३० गते । चितवनको खैरहनी नगरपालिकामा दादुरा रुवेला खोप अभियानका लागि पालिकास्तरीय खोप समन्वय समिति गठन भएको छ । खैरहनीका मेयर लालमणी चौधरीको संयोजकत्वमा समिति गठन गरिएको हो । खैरहनीमा यही चैत १० गतेदेखी १४ गते सम्म दादुरा रुवेलाको खोप लगाईदैछ । सोही खोप अभियान प्रभावकारी वनाउन मेयर चौधरीको संयोजकत्वमा प्रमुख प्रशासकीय अधिकृत,स्थानीय शिक्षा अधिकारी,नगरका १३ वटै वडाका वडाध्यक्षहरु,महिला तथा वालवालिका शाखा प्रतिनिधी,स्वास्थ्यकर्मीहरु सदस्य तथा स्वास्थ्य शाखा प्रमुख सदस्य सचिव रहने गरि २५ सदस्यीय समिति गठन गरिएको हो । सरकारले प्रत्येक चार चार वर्षमा दादुरा रुवेलाको खोप अभियान संचालन गर्दै आएको छ । यो अभियानमा खैरहनीमा ५ हजार ३४ जना वालवालिकालाई खोप लगाईने स्वास्थ्य शाखा संयोजक अनुप अधिकारीले वताए । ९ महिनादेखी ५ वर्ष सम्मका वालवालिकाहरुलाई यो खोप लगाईनेछ । वडामा वडाध्यक्षहरुको संयोजकत्वमा समिति गठन हुनेछ । विहीवार महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई दादुरा रुवेला खोप अभियानका बारे जानकारी गराईएकोमा शुक्रवार जनप्रतिनिधीहरुलाई यसबारे जानकारी गराउँदै अभियान सफल पार्ने प्रतिवद्धता जनाइएको छ । खैरहनीका मेयर लालमणी चौधरीले यो अभियानमा तोकिएका उमेर समुहका कुनै पनि वालवालिका नछुट्ने गरि सवै पक्ष खट्नु पर्ने वताए ।