वीरेन्द्रनगर खानेपानीको साधारण सभा

वीरेन्द्रनगर खानेपानीको साधारण सभा

रत्ननगर । राप्ती ८ खुरखुरेमा रहेको वीरेन्द्रनगर तेस्रो शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको चौथो बार्षिक साधारण सभा मंगलवार गरिएको छ । साधारण सभाको उद्घाटन गर्दै बागमती प्रदेशका भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले स्वच्छ खानेपानी खान पाउने अधिकारबाट कोही पनि बन्चित हुननहुने बताए । खानेपानीको सहजताको लागि प्रदेश सरकारले खानेपानी आयोजना निर्माण गर्ने र जीर्ण रहेका आयोजनालाई मर्मत गर्ने काम गरिरहेको उनले बताए । कार्यक्रममा मेयर प्रभा बरालले राप्ती ८ पाकडीबासका ३६ घरधुरी खानेपानीको पँहुचबाट बाहिर रहेको भन्दै खानेपानीको सहज उपलब्धताको लागि पहल सुरु गर्ने बताइन । पाकडीबासमा निर्माणाधिन खानेपानी आयोजना सञ्चालनमा भएका ढिलाईका कारण ३६ घरधुरीले खानेपानीको समस्या झेल्नु परेको भन्दै मेयर बरालले मानव स्वास्थ्यसंग जोडिएको समस्या यथाशीघ्र सामधान गर्ने बताइन । कार्यक्रममा संस्थाका अध्यक्ष राजेन्द्रप्रसाद बुर्लाकोटीले संस्थाको प्रगति प्रतिवेदन तथा भावि योजना, लेखा समिति संयोजक गोपाल पाण्डेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा वडाध्यक्षहरु सुमिता डल्लाकोटी,बुद्धिराज थपलिया,कार्यपालिका सदस्य श्यामलाल विक,वीरेन्द्र आर्दश माविका अध्यक्ष घनश्याम कँडेल,खानेपानीकी सचिव सृजना सिवाकोटी खरेल लगायतले मन्तव्य राखेका थिए । संस्थाका अध्यक्ष बुर्लाकोटीको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष रामचन्द्र पाठकले स्वागत मन्तव्य राखेका थिए ।