कृषि सडकले खुशीयाली

बनेपा, २९ कात्तिक ।

काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौंरीदेउराली गाउँपालिका वडा नं. ९ मा कृषि सडक निर्माण भएको छ । रातोचौंर–च्यानडाँडा–केउरेनी कृषि सडकको गाउँपालिका अध्यक्ष दिननाथ गौतमले शुक्रबार उद्घटान गर्नुभयो । गाउँपालिकाको करिब ८ लाख बजेटमा निर्माण भएको उक्त सडकले स्थानीयवासीलाई निकै सहज बनाएको छ । सो सडकले वडाबाट गाउँपालिका केन्द्र र मध्यपहाडी लोकमार्ग समेत जोडेको छ । यसले आवागमनमा सहज बनाएको भन्दै स्थानीयवासीमा खुशीयाली छाएको छ ।

गाउँपालिका अध्यक्ष गौतमले निर्वाचनमा आफूहरुले स्थानीय जनतासँग गरेको प्रतिबद्धता अनुरुपको काम पूरा हुँदै गएको बताउनुभयो । “हामीले निर्वाचनम यहाँको खानेपानी, बिजुली र सडकको समस्या समाधान गर्ने प्रतिबद्धता गरेका थियौं, ती समस्या समाधान गरेका छौं”, उहाँले भन्नुभयो । गाउँपालिका उपाध्यक्ष ताराकुमारी चौंलागाइले आफूहरु निर्वाचित भएर आउँदा देखेका समस्या क्रमशः पूरा गर्दै आएको बताउनुभयो । वडा अध्यक्ष रामबहादुर लामाले आफ्नो वडा गाउँपालिकाको सबै भन्दा विकट भएको बताउँदै पछिल्लो समयमा विकासको गतिविधि बढीरहेको छ भन्नुभयो ।