आफ्नो उपचारका लागि डा. केसीले सरकारको सहयोग नलिने

काठमाडाैं,२९ कार्तिक।

काेराेना भाइरसबाट संक्रमित भई उपचाररत रहेका डा. गोविन्द केसीले आफ्नाे उपचारका लागि सरकारकाे सहयाेग नलिने बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज ट्वीटरमार्फत डा. केसीलाई शीघ्र स्वास्थ्यलाभकाे कामना गर्दै उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले बेहाेर्ने बताएका थिए।

त्यसलगत्तै डा. केसीले विज्ञप्ति जारी गर्दै आफ्नाे उपचार खर्च आफैं बेहाेर्ने जानकारी दिएका हुन्। उनले सरकारलाई बरु आफ्ना नागरिकप्रतिको कर्तव्य पूरा गर्न आग्रह गरेका छन्।

“म कोभिड-१९ बाट संक्रमित भएपछि प्रम केपी शर्मा ओलीले दिनुभएको स्वास्थलाभको शुभकामना सन्देशको लागि हार्दिक धन्यवाद दिन चाहन्छु। सरकारले मेरो उपचार खर्च बेहोर्छु भनेको सन्दर्भमा भने मेरो उपचार खर्च म आफैँ बेहोर्छु बरु सरकारले आफ्ना नागरिकप्रतिको कर्तव्य पूरा गरोस्,” डा. केसीले विज्ञप्तिमा भनेका छन्।

उनले सरकारको ध्यान व्यक्ति विशेषको उपचार खर्च बेहोर्नुभन्दा सबै विपन्न नागरिकको उपचार खर्च बेहोर्नेमा हुनुपर्ने बताएका छन्। “कोरोना संक्रमित विपन्न र दूरदराजका नागरिक जसलाई निःशुल्क उपचार आवश्यक छ उनीहरुले अहिलेसम्म उपचार पाउन सकेका छैनन्। त्यसो हुनाले अझै पनि सरकारको ध्यान व्यक्ति विशेषको उपचार खर्च बेहोर्नुभन्दा सबै विपन्न नागरिकको उपचार खर्च बेहोर्नेमा हुनुपर्दछ,” डा. केसीकाे भनाइ छ।