सिमभञ्ज्याङमा पर्वतीय ताल निर्माण गर्न वैज्ञानिक अध्ययन

टिस्टुङ, २९ कात्तिक ।
मकवानपुरको सबैभन्दा अग्लो स्थान सिसमभञ्ज्याङमा पर्वतीय कृत्रिम ताल निर्माण गर्न वैज्ञानिक अध्ययन गरिने भएको छ । करुणाभूमि सामुदायिक वनका अध्यक्ष विनोद लामाको परिकल्पनामा केही वर्षदेखि वातावरणमैत्री तवरले कृत्रिम ताल निर्माणको प्रयास हुँदै आएको भए पनि पूरा हुन नसक्दा वैज्ञानिक अध्ययन गरिन लागेको हो ।

वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले विज्ञको टोली नै बनाएर मकवानपुरको थाहानगपालिका–४ स्थित सीमभञ्ज्याङमा पर्वतीय ताल निर्माणका लागि वैज्ञानिक अध्ययन गरिन लागेको मन्त्री रामेश्वर फुयाँलले बताउनुभयो । मन्त्री फुयाँल, मन्त्रालयका सचिव सञ्जीव बराल, भीमफेदी–कुलेखानी पोष्टबहादुर बोगटी, सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख नवीन सिंह, जलस्रोत तथा सिँचाइ विकास डिभिजनका प्रमुख मनोहर रिजाल, खानेपानी तथा सरसफाइ डिभिजन–१ का प्रमुख बालमुकुन्द श्रेष्ठलगायत प्राविधिकहरुको टोलीसहित सीमभञ्ज्याङ पुग्नुभएको थियो ।

समुद्र सतहबाट करीब दुई हजार ५०० मिटरको उचाइमा रहेको सीमभञ्ज्याङमा पर्वतीय ताल निर्माण गर्न सके थाहानगरको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले बताउनुभयो । उहाँका अनुसार, पर्वतीय तालका लागि तत्कालीन स्थानीय विकास मन्त्रालयबाट सात लाख, शहरी विकास मन्त्रालयबाट तीन लाख र थाहा नगरपालिकाबाट तीन लाखको लागतमा केही संरचना निर्माण भए पनि निर्माण कार्य पूरा हुन सकेको छैन । पर्वतीय क्षेत्रमा ताल निर्माण गर्न सके तल्लो क्षेत्रमा जलप्रवाहका लागि ‘रिचार्ज’को कामसमेत हुन सक्ने नगर प्रमुख विष्टको भनाइ छ ।

बाह्रै महिना आउने पानीको स्रोत भएको र ताल निर्माणका लागि उपयुक्त भूगोल भएकाले सीमभञ्ज्याङमा व्यवस्थित रमणीय ताल निर्माण गर्न सकिने जलस्रोत तथा सिँचाइ विकास डिभिजनका प्रमुख मनोहर रिजालले बताउनुभयो । “सबैभन्दा खडेरी पर्ने समयका पानीको स्रोतमा परिमाण मापन गर्छाैं, अरू परीक्षणहरु गर्छौं र वैज्ञानिक हिसाबले दिगो जलाशय निर्माणका लागि प्रतिवेदन पेश गर्छाैं”, उहाँले भन्नुभयो । अहिले दुईवटा तालको संरचना निर्माण भइरहेकामा अब तीन ताल निर्माणको योजनासहित अघि बढ्न सकिने उहाँको भनाइ छ ।

पर्वतीय ताल निर्माणस्थल त्रिभुवन राजपथसँगै नाङ्गेचुली र व्योमकुट पर्वतको खोँचमा रहेको छ । यस वरपर सयौँ वर्षदेखिका पुराना खस्रुका रूखहरु रहेका छन् भने लोक्ता, लौठसल्ला, पाषाणभेद, अलमले झार, रङ्गीबिरङ्गी गुराँसका साथै बहुमूल्य जडीबुटीहरु रहेका छन् । रासस