त्रिदेव तोरीको तेल न्युन गुणस्तर भएको पुष्टि

त्रिदेव तोरीको तेल न्युन गुणस्तर भएको पुष्टि

चितवन, २९ मंसिर ।
अवैध रुपमा उत्पादित त्रिदेव ब्राण्डको तोरीको तेल न्युन गुणस्तरको भएको पुष्टि भएको छ । खाद्य विभागको ल्याबमा गरिएको परिक्षणमा कैलाश धारा तेल मिलको उत्पादन त्रिदेव तोरीको तेलको गुणस्तर सरकारले तोके अनुसार नभएको पुष्टि भएको विभागका एक कर्मचारीले जानकारी दिए ।
‘शंकास्पद त्रिदेव तोरीको तेलको नमुना परिक्षण गर्दा न्युन गुणस्तर भएको पाइएको छ’, उनले भने, ‘तेलमा केहि रसायनको मात्रा सरकारले तोकेको मात्रा भन्दा बढी रहेको पाइयो । त्यसलाई अब अदालतमा मुद्धा दर्ता गर्ने प्रकृयामा छौँ ।’ चार बर्ष देखि उद्योगको नविकरण समेत नगरी अवैध रुपमा सञ्चालित बाराको अमलेखगञ्जस्थित कैलाश धारा तेल मिलमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरले मंसिर १६ गते सिल गरेको थियो ।
तेल समेत न्युन गुणस्तरको भएको पाइएपछि केहि दिनमा नै उद्योग विरुद्ध अदालतमा मुद्धा दायर गर्न लागिएको ती कर्मचारीले बताए । त्रिदेव ब्राण्डको तोरीको तेल चितवन र नवलपरासीमा बढी बिक्री हुने तेल हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले डिभिजन कार्यालय चितवनको समन्वयमा मंसिर १८ गते नारायणगढका किराना पसलहरु अनुगमन गरि त्रिदेव ब्राण्डको २७ कार्टुन तेलको विक्री वितरणमा रोक लगाएको थियो । अब अदालतको फैसला अनुसार उद्योगीलाई कारबाही हुने बताइएको छ ।
अवैध रुपमा उत्पादित त्रिदेव ब्राण्डको तोरीको तेल बिक्री वितरण नगर्न खाद्य विभागले यसअघि नै सुझाव दिइसकेको छ ।