कालोबजारी प्रकरण- जफत मल किसानलाइ बिक्री

कालोबजारी प्रकरण- जफत मल किसानलाइ बिक्री

चितवन, ३० भदौं ।

चितवनको रत्ननगर १ बकुलहरमा रहेको निर्मल बहुउद्देश्यीय सहकारीको गोदामबाट जफत गरेको मल किसानलाई विक्री गरिएको छ । मलमा कालोबजारी गरेको उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय चितवनले सो सहकारी संस्थाबाट जफत गरी सहकारीमा आबद्ध ४ जनालाई कारबाही गरेको थियो । जिल्ला प्रशासन कार्यालयले जफत गरेको मल विक्री गरी सहकारीलाई कारबाही गर्न रत्ननगर नगरपालिकालाई लिखित पत्र पठाएको थियो ।

जिल्ला प्रशासन कार्यालयको आग्रहका आधारमा युरिया मल किसानलाई विक्री गरेर सहकारीलाई कारबाहीको प्रक्रिया अगाडि बढाइएको रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडीले बताइन । सरकारले सहकारी मार्फत अनुदानमा विक्री गर्ने युरिया मल सो सहकारीले बढी मुल्य लिएर विक्री गरेको उजुरी परेपछि सहकारीको विक्री डिपोमा रहेको ५१ बोरा मल जिल्ला प्रशासन कार्यालयले जफत गरेको थियो । जिल्ला प्रशासन कार्यालयको पत्र अनुसार रत्ननगर नगरपालिकाले नगर भित्रका किसानहरुलाई दामासायीमा मल विक्री गरेको हो ।

प्रत्येक वडाका १५ जना किसानहरुलाई जनही १० किलोका दरले प्रतिकिलो १५ रुपैया ३० पैसा मुल्यमा विक्री गरिएको नगरपालिकाले जनाएको छ । वडा कार्यालयबाट सिफारिस भई आएका किसानहरुलाई मात्र मल वितरण गरिएको थियो । जिल्ला प्रशासन कार्यालय चितवनले जफत गरिएको मल किसानलाई विक्री गरेर सो वापत आएको पैसा जिल्ला प्रशासन कार्यालयको खातामा जम्मा गर्न भनेको छ ।

उपमेयर विमला दुवाडी सहित आर्थिक विकास समितिको बैठकले मल विक्रीको लागि कार्यपालिका सदस्य सरस्वती लामा संयोजक रहेको मल विक्री तथा व्यवस्थापन समिति गठन तथा कलोबजारी गरेको भनिएको निर्मल बहुउद्देश्यीय सहकारी संस्थालाई कारबाही प्रकृया अगाडि बढाउने निर्णय गरेको थियो । सहकारीलाई कारबाहीको सम्बन्धमा सहकारीका सञ्चालकहरुसंग थप सोधपुछ गर्ने र नेपाल सरकारको कानुनले तोके बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने बैठकले निर्णय गरेको आर्थिक विकास समितिका संयोजक गुप्तनाथ भट्टराईले जानकारी दिए ।