खिचरा महोत्सवमा दर्शकको अत्याधिक भिड, चर्चित कलाकारहरुले झुमाए दर्शक

खिचरा महोत्सवमा दर्शकको अत्याधिक भिड, चर्चित कलाकारहरुले झुमाए दर्शक

चितवन, १ माघ ।
पूर्वीचितवनको खैरहनीमा जारी ‘सातौं खिचरा महोत्सव–२०७६’ अन्तरगत आज चौथो दिन महोत्सवमा दर्शकहरुको अत्याधिक भिड लागेको छ । माघी पर्वको अवसरमा आयोजना गरिने महोत्सवमा आज माघी पर्व भएकाले पनि दर्शकहरुको निकै भीड लागेको थियो ।

चर्चित कलाकारहरुको बजोड प्रस्तुतीले दर्शकहरुले भरपुर मनोरञ्जन लिएका थिए । महोत्सवको साँस्कृतिक कार्यक्रम अन्तर्गत आज चर्चित थारु गायक मनोज महतो , बाल गायिका कमला घिमिरे, भोजपुरी गायक सुनिल पण्डित, चितवनका युवा लोकदोहोरी गायक जिवी सुनारलगायतले सांगीतिक प्रस्तुती दिएका थिए । यस्तै आज थारु साँस्कृतिक नृत्य, अन्य विभिन्न नृत्यहरु र फेशन शो समेत गरिएको साँस्कृतिक कार्यक्रम संयोजक जयस चौधरीले जानकारी दिए ।
महोत्सव अन्तरगत भोलि (बिहीबार) चर्चित गायिका तथा मोडेल ज्योति मगर, राजन अर्याल, स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहेको साँस्कृतिक समितिका संयोजक चौधरीले जानकारी दिए ।थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ को आयोजनामा भइरहेको महोत्सव माघ ८ गतेसम्म गौचरनमा चल्ने छ । महोत्सवले खिचरा पर्वको संरक्षण गर्नमा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको महोत्सव मुल आयोजक समितिका संयोजक चुडामणि चौधरीले बताए ।
महोत्सवमा थारुसंगै विभिन्न जातजातिको परम्परागत भेषभुषा सहितको साँस्कृतिक कार्यक्रमलाई जोड दिइएको छ । महोत्सवमा थारु जातिको खानाको परिकारसहितको स्टलहरु, चेपाङ र दराई को समेत खानाका परिकारका स्टल र विभिन्न शैक्षिक, वित्तीय संस्था, विभिन्न संस्थाहरुको स्टलहरु गरि १५० वटा स्टल रहेको आयोजकले जनाएको छ ।यस्तै महोत्सवमा प्रतियोगितात्मक कृषि उपज प्रदर्शनी, अन्तर विद्यालयस्तरीय चित्रकला, हाजिरी जवाफ प्रतियोगिता, ४० वर्ष माथिका पुरुषको भेट्रान दौड, स्लो साइकल रेस, खिचरा फोटोरसेल्फी फोटो प्रतियोगिता र फेस पेन्ट प्रतियोगिता रहने आयोजकले जनाएको छ ।