बुटवलमा बस चढ्नुअघि काउन्टरमै यात्रुको ज्वरो परीक्षण

बुटवलमा बस चढ्नुअघि काउन्टरमै यात्रुको ज्वरो परीक्षण

बुटवल,२ चैत ।

कोरोनाभाइरसको संक्रमणको त्राससँगै सरकार र निजी क्षेत्रले सुरक्षा एवं सतर्कताका लागि विभिन्न अभियान शुरु गरेका छन् । बुटवलको पश्चिम नेपाल बस व्यवसायी प्रालिले आफु मातहत रहेका विभिन्न स्थानका टिकट काउण्टरहरुमा यात्रुहरुको शरीरको तापक्रम (ज्वरो) मापन गरेरमात्र टिकट काट्ने भएको अभियान शुरु गरेको छ ।

प्रालिले आइतबार बुटवलमा पत्रकार सम्मेलन गरि आफु मातहत सेवा सञ्चालनमा रहेका सडक खण्डहरुका टिकट बुकिङ काउण्टरहरु बेलहिया, भैरहवा, बुटवल, तौलिहवा, कृष्णनगर, परासी, महेशपुर, तानसेन, तम्घास र सन्धिखर्कमा आफ्नै लगानीमा उपकरणबाट यात्रुहरुको तापक्रम मापन गर्ने व्यवस्था गरेको जानकारी दिएको हो।

प्रालिका अध्यक्ष दधिराम खरेलले कोरोनाभाईरसको संक्रमणको त्रासको कारण सरकारले बढी भिडभाड हुने कार्यक्रम नगर्न र भिडभाडमा नजान आग्रह गरिहँदा यसको प्रभाव यातायात क्षेत्रमा समेत परे पनि पहिलो काम यात्रुहरुको सुरक्षा गर्नु रहेकोेले ज्वरो मापन गरेरमात्र टिकट काट्ने व्यवस्था गरिएको बताए ।

उनका अनुसार सबै काउण्टरमा उपकरण ल्याईएको र आफ्नै कर्मचारीमार्फत तापक्रम मापन गरि उनिहरुको अवस्था जानकारी गराउने व्यवस्था गरिएको छ ।