मलेसियामा प्रार्थनामा सहभागी १९० जना कोरोना संक्रमित

मलेसियामा प्रार्थनामा सहभागी १९० जना कोरोना संक्रमित

एजेन्सी,२ चैत ।

मलेसियाको एउटा मस्जिदमा प्रार्थनाका लागि सहभागी भएका १९० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।

मलेसियामा आइतबारमात्रै १९० जना नयाँ संक्रमित भेटिएका हुन्।

योसँगै मलेसियामा कोरोना संक्रमितको संख्या २२८ पुगेको छ।

उक्त प्रार्थनामा विभिन्न मुलुकका १६ हजार मानिस सहभागी भएको अनुमान छ। जसमध्ये शंकास्पद व्यक्तिहरुलाई परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो।

ठूलो संख्या कोरोना पुष्टि भएपछि प्रार्थनामा सहभागी भएका र उनीहरुको सम्पर्कमा आएका सबै व्यक्तिलाई १४ दिनको क्वारेन्टाइनमा बस्न निर्देशन दिइएको छ।

त्यहाँका स्वास्थ्य अधिकारीहरुका अनुसार गत फेब्रुअरी २७ देखि मार्च १ सम्म राजधानी क्वालालम्पुर नजिकको मस्जिद जामेक श्री पेटालिङमा भएका प्रार्थना सभामा झण्डै १६ हजार मानिस सहभागी भएका थिए।

तीमध्ये १४ हजार ५ सय मलेसियन नागरिक थिए भने बाँकी अन्य देशका थिए।

छिमेकी ब्रुनाईमा शनिबार भेटिएका ४० नयाँ संक्रमितमध्ये ३८ जना धार्मिक प्रार्थनामा सहभागी भएका व्यक्ति थिए।