भूमि समस्या समाधान आयोगको अध्यक्षमा देवी ज्ञवाली नियुक्त

भूमि समस्या समाधान आयोगको अध्यक्षमा देवी ज्ञवाली नियुक्त

काठमाडौं,३ वैशाख ।

सरकारले देवी ज्ञवालीलाई भूमिसम्बन्धी समस्या समाधान आयोग–२०७६ को अध्यक्ष पदमा नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले ज्ञवालीलाई नियुक्त गरेको हो । अध्यक्षको सेवा सुविधा राज्यमन्त्री सरहको हुनेछ ।

स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिका मेयर पदमा उमेदवार बनेका ज्ञवाली तत्कालीन माओवादी केन्द्रका तर्फबाट उमेदवार बनेकी रेणु दाहालसँग पराजित भएका हुन् ।

संयोगले दुवै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य छन् ।

भरतपुरको १९ नम्बर वडामा मतपत्र च्यातिएपछि दोहोर्‍याएर चुनाव गर्नुपरेको थियो । त्यसपछि पार्टी एकता हुँदा ज्ञवालीलाई केन्द्रीय सदस्य बनाइएको थियो ।

मन्त्रिपरिषद्को मंगलबारको बैठकले पोखराका भीमबहादुर कार्की, सिन्धुपाल्चोकका जगत देउजा, ललितपुरकी मञ्जली शाक्य र बाँकेका दीनेशचन्द्र यादवलाई सदस्य नियुक्त गरेको छ ।

उनीहरूको सेवा–सुविधा नेपाल सरकारको विशिष्ट श्रेणीको कर्मचारी (सचिव) सरह हुनेछ ।

भूमिसम्बन्धी ऐन (आठौं संशोधन)–२०७६ अन्तर्गत आयोगको गठन भएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालकी प्रेस संयोजक देविका घर्तीले जानकारी दिइन् ।