मोटरसाइकल दुर्घटनामा नेपाली सेनाका जमदारको मृत्यु

मोटरसाइकल दुर्घटनामा नेपाली सेनाका जमदारको मृत्यु

लहान, ३१ भदौ

पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–१ मेदनी पुलमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा नेपाली सेनाका एक जमदारको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को२२प २९४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक नेपाली सेनाको श्री बक्स गुल्म अठुङ्गे ब्यारेक म्याग्दीमा कार्यरत जमदार पेशल पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।्

दुर्घटनामा परी गम्भीर घाइते खोटाङको हौचुरे गाउँपालिका–५ घर भई सुनसरीको इटहरी उपमहानगरपालिका–४ निवासी पाण्डेलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

ज्यान मार्ने उद्योग मुद्धामा फरार पक्राउ

ज्यान मार्ने उद्योग मुद्धामा फरार एक युवकलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ । ज्यान मार्ने उद्योग मुद्धामा फरार सिरहाको मिर्चैया नगरपालिका–४ निवासी २० वर्षीय रञ्जित मुखियालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । मुखियालाई कल्याणपुर नगरपालिका–६ स्थित कमला बाँधबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस