औषधीको अवैध ओसारपसारमा संलग्न आठ जना पक्राउ

औषधीको अवैध ओसारपसारमा संलग्न आठ जना पक्राउ

चितवन, १ पुष ।
औषधीको अवैध ओसारपसारमा संलग्न आठ जनालाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चितवन र मकवानपुरका चार÷चार जना छन् । मंसिर ३० गते बिहान ठोरीबाट माडीतर्फ आउँदै गरेको ना ४ ख ४४२५ नम्बरको गाडीमा चेकजाँच गर्ने क्रममा गैरकानुनी रुपमा ल्याएको औषधी फेला पारिएको प्रहरीले बताएको छ ।

No description available.
ईलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक झलक शर्माको कमाण्डमा खटिएको प्रहरी टोलीले २१ लाख १० हजार ५३२ रुपैयाँ बराबरको औषधी सहित गाडी चालक कालिका नगरपालिका वडा नं ४ बस्ने बर्ष २८ राजकुमार महतोलाई नियन्त्रणमा लिएको हो । अवैध ओसारपसारमा संलग्न अन्यको खोजि गर्ने क्रममा माडी नगरपालिका वडा नं ३ बघौडा बस्ने बर्ष २२ का बालकृष्ण महतो, सोहि ठाउँका बर्ष २२ का मिलन महतो, कालिका नगरपालिका वडा नं ३ बस्ने बर्ष ३१ का हरिशरण चौधरी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नान्तीराज गुरुङले बताए ।
त्यस्तै, मकवानपुरको गढी गाउँपालिका वडा नं ८ बस्ने बर्ष २५का सुरज गौतम, गढी–३ बस्ने बर्ष २३ का प्रकाश दाहाल, हेटौडा उपमहानगरपालिका वडा नं ५ बस्ने बर्ष २५ का उज्वल पोख्रेल र हेटौडा–२३ बस्ने बर्ष २३ का विपिन सापकोटा पक्राउ परेको उनले बताए । पक्राउ परेका व्यक्ति र बरामद औषधी प्रहरीले आज जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।


इलाका प्रहरी कार्यालय माडीले आज बिहान पनि बेवारिसे अवस्थामा रहेको ९ लाख ९५ हजार रुपैयाँ बराबरको औषधी फेला पारेको छ । प्रहरीले बेवारिसे औषधी माडी–९ बगही खोला किनारको झाडीमा फेला पारेको हो । बरामद भएका औषधी र पक्राउ परेका व्यक्तिहरुलाई औषधी व्यवस्था विभागमा पठाउन लागिएको गुरुङले बताए । बरामद औषधी नेटवर्किङ व्यवसायमा संलग्नहरुले प्रयोग गर्ने गरेको आशंका रहेको उनले बताए ।