प्रहरीले बरामद गरेका १० लाख माक्स सुपथ मूल्यमा साझा स्वास्थ्यबाट बेच्‍न निर्देशन

प्रहरीले बरामद गरेका १० लाख माक्स सुपथ मूल्यमा साझा स्वास्थ्यबाट बेच्‍न निर्देशन

काठमाडौं,३ चैत ।

महान्यायाधिवक्ताको कार्यालयले काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले बरामद गरेका मास्कलाई साझा स्वास्थ्य सेवाबाट बेच्‍न प्रहरी महानिरीक्षकलाई निर्देशन दिएको छ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७५ को दफा २७ अनुसार यस्तो निर्देशन दिएका हुन् ।

निर्देशनमा सार्वजनिक हित र जनस्वास्थ्यलाई ध्यानमा राखेर मुद्दा हेर्ने अधिकारीको अनुमति लिएर आवश्यक प्रक्रिया अगाडि बढाउन भनिएको छ । निर्देशनमा भनिएको छ,

१. बरामद मास्कहरुको मूल्य र नमुना सहितको अभिलेख एवं फोटो सहितको डिजिटल अभिलेख राख्‍ने ।

२. बरामद मास्कहरुको हालको बजार मूल्य अनुसारको रकम साझा स्वास्थ्य सेवा यस्तै प्रकृतिका अन्य सार्वजनिक संस्थाबाट लिई सो रकम प्रहरीको धरौटी खातामा राखि उक्त माक्सहरु सो संस्थाले यकिन अभिलेख राखी अविलम्ब बिक्री वितरण गर्ने व्यवस्था मिलाउने ।

३. अनुसन्धान भएका मुद्दाहरुमा अभियोजन गर्ने निर्णय हुँदा प्रकरण २ मा उल्लेख भएको व्यवस्था अनुसार धरौटी खातामा जम्मा भएको रकम जफत हुन माग दाबी लिने प्रबन्ध गर्ने ।

प्रहरीले पछिल्ला दुई दिनका काठमाडौंका विभिन्न स्थानबाट लुकाएर राखिएको अवस्थामा ९ लाखभन्दा बढी सर्जिकल मास्क बरामद गरेको छ । बजारमा कोरोना भाइरसको त्रास बढेका बेला सप्लायर्स सञ्चालकले मास्क लुकाएर कालोबजारी गरेको प्रहरी आरोप छ । बजारमा मास्क पाउन मुस्किल छ ।