धरानमा पनि स्वास्थ्यकर्मीमाथि प्रहरीद्वारा कुटपिट

धरानमा पनि स्वास्थ्यकर्मीमाथि प्रहरीद्वारा कुटपिट

काठमाडौं, ४ वैशाख

प्रहरीले धरानमा स्वास्थ्यकर्मीलाई कुटपिट गरेको छ । धरान उपमहानगरपालिकास्थित पानवारीमा लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले स्थानीय एक स्वास्थ्यकर्मीलाई पाइपले कुटेका हुन् ।

बिहीबार बिहान साढे ७ बजे स्वास्थ्यकर्मी चन्द्रप्रकाश खनालले बिरामीको उपचार गर्न जाँदै थिए। सोही क्रममा उनले पानमारा चौकीका प्रमुख भेषबहादुर राउतलाई परिचयपत्र देखाउँदै गर्दा आफूलाई पाइपले हानेको खनालले बताए।

‘म बिहान प्रेसरको बिरामी भेट्न जाँदै थिएँ,’उनले भने’परिचयपत्र देखाउँदै गर्दा पाइपले प्रहार गरे।’

उनको ढाडमा निलडाम बसेको छ। तर इलाका प्रहरी कार्यालय धरानका प्रमुख ढुण्डीराज न्यौपानेले भने कुटपिट नभएको दाबी गरेका छन्।

‘त्यस्तो केही कुटेको होइन उहाँ चाहिँ मोटरसाइकलमा परिचयपत्र नबोकी जानुभएको थियो,’उनले भने,’परिचयपत्र देखाउनुभन्दा सामान्य वादविवाद भएको हो।’