४८ घन्टायता नेपालमा नयाँ कोरोना संक्रमित भेटिएका छैनन् : स्वास्थ्य मन्त्रालय

४८ घन्टायता  नेपालमा नयाँ कोरोना संक्रमित भेटिएका छैनन् : स्वास्थ्य मन्त्रालय

काठमाडौं,४ वैशाख

विगत ४८ घन्टा यता नेपालमा नयाँ कोरोना भाइरस संक्रमित बिरामी नभेटिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। बिहीबार मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङकका क्रममा प्रवक्ता डा विकास देवकोटाले नेपालमा कोरोना भाइरस संक्रमित नयाँ बिरामी नभेटिएको जानकारी दिएका हुन्।

मंगलबार मात्र २ जनामा कोरोना भाइरस पोजेटिभ देखिए पनि बुधबार र बिहीबार कोरोना संक्रमित बिरामी नभेटिएका हुन्। यसका साथै नेपालमा थप ६९ जिल्लामा कोरोना भाइरसको र्‍यापिड टेस्ट सुरु भएसमेत उनले जानकारी दिए।

‘देश भर ८ जिल्लाबाहेक सबै जिल्लामा आरडिटी सुरु भएको छ’ उनले भने, ‘यी जिल्लामा पनि चाँडै सुरु हुनेछ।’

हालसम्म १२ हजार १ सय ९२ जनाको आरटिडी गरिएको उनले बताए। यसैगरी कूल ७ हजार २ सय ४० जनाको पिसिआर प्रविधिबाट परीक्षण गरिएको छ। दुवै प्रक्रियाबाट कुल १९ हजार ४ सय ३२ जनाको परीक्षण भएको हो।

यसैगरी देशभरमा ४ हजार ९ सय १ जना क्वारेन्टाइनमा रहेको र आइसोलेसनमा १ सय ३ जना रहेको उनले बताए। बिहीबार कुनै पनि कोरोना संक्रमित बिरामी नभेटिएको समेत उनले बताए। हाल उपचार गराइरहेका १५ जनाकै अवस्था समेत सामान्य भएको उनले बताए।