उरुग्वेका स्ट्राइकर स्वारेजलाई कोरोना संक्रमण

उरुग्वेका स्ट्राइकर स्वारेजलाई कोरोना संक्रमण

एजेन्सी, २ मङ्सिर ।

उरुग्वे राष्ट्रिय फुटबल टोली एवम् स्पेनिस क्लब एट्लेटिको मड्रिडका स्ट्राइकर लुइस स्वारेजलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उरुग्वेको फुटबल महासंघले सोमबार एक विज्ञप्ति जारी गर्दै स्वारेज लगायत राष्ट्रिय टिमका थप दुई खेलाडी कोरोना संक्रमण भएको जानकारी दिएको हो ।

कोरोना पुष्टि भएपनि स्वारेजमा कुनै लक्ष्यण नदेखिएको र हाल उनी आइसोलेसनमा रहेको उरुग्वेको फुटबल महासंघले जानकारी दिएको छ ।

कोरोना पुष्टि भएर आइसोलेसनमा बस्‍ने भएपछि स्वारेजले विश्वकप छनोट अन्तर्गत मङ्गलबार हुने ब्राजिलविरुद्धको खेल गुमाउने भएका छन् ।

त्यसैगरी स्‍पेनिस लालिगाअन्तर्गत शनिबार हुने पूर्वक्लब बार्सिलोनाविरुद्धको खेल, आगामी हप्ता च्याम्पियन्स लिग अन्तर्गत हुने लोकोमेटिभ मस्को तथा लालिगाअन्तर्गत नै भ्यालेन्सियाविरुद्धको खेल गुमाउने भएका छन् ।

केही दिन अगाडी उरुग्वे फुटबल टोलीका सदस्य माटिआस भिनालाई कोरोना देखिएपछि महासंघले आइतबार सबै खेलाडी तथा स्टाफको पिसिआर परीक्षण गराएको थियो ।

यही सिजन बार्सिलोनाबाट एट्लेटिको मड्रिड पुगेका स्वारेजले प्रभावशाली प्रदर्शन गरिरहेका छन् । उनले एट्लेटिकोका लागि ६ खेलमा ५ गोल गरेका छन् ।