कोलेनिकाले भन्यो–स्थानिय तहलाई दिएको अनुदान अनुत्पादक क्षेत्रमा खर्च

चितवन, २ पुष ।
कोष तथा लेखा नियन्त्रकको कार्यालय (कोलेनिका) चितवनले स्थानिय तहलाई दिइएको अनुदान रकम अनुत्पादक क्षेत्रमा खर्च भएको बताएको छ । चितवनस्थित सरकारी कार्यालयहरुले आर्थिक बर्ष ०७६÷७७ मा गरेको कारोबारको विश्लेषण गरेर कोष तथा लेखाले यस्तो प्रतिवेदन तयार गरेको हो ।
सरकारी कार्यालयका कारोबारमा देखिएका व्यहोरा र जोखिमका क्षेत्रहरुबारे कार्यालयले अध्ययन गरेको थियो । स्थानिय तहहरुमा भइरहेको अनुत्पादक तथा वितरणमुखी खर्चलाई नियन्त्रण गर्न आवश्यक रहेको कोष तथा लेखा नियन्त्रकको कार्यालय चितवनका सूचना अधिकारी कोष नियन्त्रक शरदचन्द्र भट्टराईले बताए ।
स्थानिय तहहरुले आर्थिक सहायतका नाममा अनुत्पादक क्षेत्रमा अनुदान रकम खर्च गरेको उनले बताए । स्थानिय सरकारले विभिन्न बहानामा पैसा बाँड्ने काम मात्र गरेको उनको भनाइ छ । स्थानिय सरकारको काम नितान्त विकास निर्माण हुनुपर्ने उनले बताए ।
आन्तरीक आय राजस्व बाँडफाँडको परिचालनमा स्थानिय तहहरुको प्रशासनिक खर्च घटाउनुपर्ने उनले बताए । त्यस्तै, स्थानिय तहहरुले विकास निर्माण र पूर्वाधार विकासमा अनुदानको खर्च बढाउन आवश्यक रहेको देखिएको उनले बताए ।
नेपाल सरकार र प्रदेश सरकारले कोष तथा लेखा नियन्त्रक कार्यालय मार्फत स्थानिय तहहरुलाई शसर्त, समपुरक र विशेष अनुदान बापतको रकम हस्तान्तरण गर्छ । यस्तो रकम तोकिएको प्रयोजनमा खर्च भएर बाँकी रहेको अवस्थामा स्थानिय तहहरुले बाँकी रकम फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ । तर चितवनका सात वटै स्थानिय तहहरुले कानुन उल्लघंन गरेर तीन÷चार महिनापछि मात्रै खर्च हुन बाँकी रहेको अनुदान फिर्ता गर्ने गरेको उनले बताए ।