थिमीको तःह्रा हिटीको मूर्ति चोरी, व्यासीमा बेवारिसे अवस्थामा एउटा मूर्ति

थिमीको तःह्रा हिटीको मूर्ति चोरी, व्यासीमा बेवारिसे अवस्थामा एउटा मूर्ति

काठमाडौं,फागुन ५

मध्यपुर थिमी नगरपालिकाको पुरानो बाटोमा वडा नं. ६ स्थित तःह्रा हिटीमा रहेको नारायणको मूर्ति चोरी भएको छ।

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता किरण वज्राचार्यले उक्त मूर्ति चोरी भएको तथा १ फुट अग्लो, ढुङ्‌गाको नारायणको मूर्ति भक्तपुरको व्यासीमा बेवारिसे अवस्थामा फेला परेको जनाएका छन्।

सो मूर्ति भक्तपुरको तःह्रा हिटीको हुनसक्ने मध्यपुर थिमी नगरपालिका-६ का वडाअध्यक्ष इन्द्रबहादुर प्रजापति बताउँछन्। व्यासीमा भेटिएको मूर्ति ठिमीको हो-होइन सुनिश्चित गर्न तत्काल आवश्यक समन्वय गर्ने उनी बताउँछन्।

आइतबार बिहानै उक्त मूर्ति चोरी भएपछि स्थानीयले वडाअध्यक्ष प्रजापतिलाई तथा ठिमीको प्रहरी बिटलाई खबर गरेका थिए। ‘सो क्षेत्रको दुईवटा सिसिटिभी छ,’ वडाअध्यक्ष प्रजापति भन्छन्, ‘त्यसमध्ये एउटा सो हिटीतिरै छ, त्यसको भिडियोले मद्दत गर्न सक्छ।’

ढुङ्‌गेधारा पछिल्लो मध्यकालीनसम्मको हुनसक्ने तर चोरी भएको मूर्ति कति पुरानो भन्ने यकिन नभएको बताइएको छ।

केहीयता उपत्यकामा मूर्ति चोरीका घटनाहरू बढिरहेका छन्।