रौतहटमा भाउजुमाथि खुकुरी प्रहार गर्ने देवर पक्राउ

रौतहटमा  भाउजुमाथि खुकुरी प्रहार गर्ने देवर पक्राउ

रौतहट,४ चैत । 

रौतहटमा देवरले आफनै भाउजूको हत्या प्रयास गरेको खुलासा भएको छ। जिल्लाको साबिक जेठरहिया गाविस ९ हाल यमुनामाई गापा १ बस्ने धनै सहनीको छोरा राजुकुमार सहनीले आफनै भाउजुको हत्याको प्रयास गरेका हुन् । ईलाका प्रहरी कार्यालय गरुडाले आज पत्रकार सम्मेलनको आयोजना गरि उक्त रहस्यको खुलासा गरेको हो ।

पत्रकार सम्मेलनमा सोही अभियोगमा पक्राउ परेका अभियुक्त राजुकुमार सहनिलाई प्रहरीले सार्वजनिक गरेको छ । सहनीले वैदेशिक रोजगारीमा रहेका दाईको श्रीमती पुनमकुमारी सहनीमाथि धारिलो हतियार (खुकुरी) प्रहार गरि हत्याको प्रयास गरेको डिएसपी ज्ञानकुमार महतोले बताएका छन् । हाल घाइते पुनमको वीरगञ्जस्थित एलएस न्युरो अस्पतालमा उपचार भैरहेको छ । घाइते पुनमको टाउकोको अप्रेशन गर्नुपर्ने डाक्टरले जानकारी दिनुभएको डिएसपी महतोले जानकारी दिए । आरोपी राजु सहनीउपर ज्यानमार्ने उद्योगमा मुद्दा दर्तागरी जिल्ला अदालत गौरबाट म्याद थपगरी अनुसन्धान भैरहेको डिएसपी महतोले बताए ।

कसरी भयो घटना ?

सोमबार राती पुनम सहनी छोरीसहित आफ्नो घरमा सुतिरहेकी थिइन् । पुनम सुतिरहेको अवस्थामा बिहान ४ बजे अज्ञात ब्यक्ति घरभित्र प्रवेश गरे । एकाबिहानै घरभित्र प्रवेश गरेका उनले पुनममाथि धारिलो हतियार (खुकुरी) प्रहार गरेर घाइते मात्र बनाएनन् केही सामान लुटपाट गरेर भाग्न सफल भएको थियो । घाइते पुनमको सुरुमा सुकदेवचौकस्थित निजि अस्पतालमा उपचार भयो तर त्यहाँ उपचार सम्भव नहुने देखिएपछि उनलाई वीरगञ्ज रिफर गरिएको छ । घटनाको सूचना पाएर ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी महतो नेतृत्वमा गएको टोलीले घटनास्थलमा सुक्ष्म अनुसन्धान सुरु गरेको छ ।