दमकलले राहत,संचालनका लागि कोष

दमकलले राहत,संचालनका लागि कोष

चैत ४ गते । पूर्वी चितवनमा संचालित दुई वटा दमकल संचालनका लागि चार वटा नगरपालिकाले कोषमा रकम थप गर्ने सहमती गरेका छन् । दमकल संचालनका लागि गत वर्ष दुई दुई लाख रुपैया चार वटा नगरपालिकाले लगानी गर्ने सहमती भएपनि अपुग भएपछि रकम थप्ने निर्णय मंगलवार खैरहनी नगरपालिका प्रमुख लालमणी चौधरीको अधयक्षतामा वसेको वैठकबाट भएको हो । मंगलवार चार वटा नगरपालिका प्रमुख,उपप्रमुख,प्रमुख प्रशासकीय अधिकृतहरुको वैठक वसेको थियो । चालु आर्थिक वर्षमा संचालनका लागि रकम अपुग भएपछि सवै नगरपालिकाले रकम थप गर्दै तीन तीन लाख पुर्याउने सहमती गरेको खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले वताए । हाल सम्म दमकल संचालनका लागि ८ लाख ८९ हजार रुपैया खर्च भएको छ । जुन खर्च वैठकले अनुमोदन समेत गरेको प्रमुख प्रशासकीय अधिकृत शर्माले वताए ।

दमकलका कर्मचारीको तलव,मर्मत,इन्धन,प्रशिक्षणमा सो रकम खर्च भएको हो । आगामी आर्थिक वर्षमा सवै नगरपालिकाले पाँच पाँच लाख रुपैया जम्मा गरेर कोष संचालन गर्ने वैठकमा छलफल भएको छ । तर निर्णय भने हुन वाँकी छ । वैठकमा खैरहनी नगरपालिका प्रमुख लालमणी चौधरीले खैरहनीमा रहेको दुई वटा दमकलले ठुलो क्षती न्युनिकरणमा सहयोग गरेको वताए । चितवनको भरतपुरदेखी मकवानपुरको मनहरी सम्म यहाँको दमकल प्रयोग भएको छ । पूर्वी चितवनका चार वटा नगरपालिकाले समान लगानीमा एउटा दमकल खरिद गरेका हुन् भने वागमती प्रदेश सरकारको सहयोगमा खैरहनी नगरपालिकाले अर्को दमकल खरिद गरेको हो । भुगोलको हिसावले दुई वटै दमकल खैरहनी नगरपालिकामा राखिएको छ ।