चितवनमा लकडाउनलाई थप कडाइ गरिने, बिहान १० देखि ४ बजेसम्म मात्रै अत्यावश्यक पसल खोल्न पाइने

चितवन, वैशाख ४ ।

चितवनमा प्रशासनले ‘लकडाउन’लाई कडाइ गर्ने निर्णय गरेको छ । जिल्ला सुरक्षा समितिको बिहीबार बसेको बैठकले लकडाउनलाई थप कडा पार्ने निर्णय गरेको हो ।

निर्णयानुसार चितवनमा बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्ममात्रै खाद्यान्न, तरकारी, डेरी, पशुपक्षीको दाना बिक्री गर्नेलगायतका पसल खुल्न पाउने छन् ।

त्यस्तै, एम्बुलेन्स, शवबहान, दमकल, खाद्यान्न ढुवानी, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको सवारी–साधनमात्रै सञ्चालन हुन पाउने छन् ।

स्वास्थ्यकर्मीले अनिर्वायरुपमा परिचयपत्र देखाउनुपर्ने र घरबाट आफू कार्यरत् स्वास्थ्य संस्था जाने–आउने रुटमा मात्रै ‘डिउटी रोस्टर’को साथमा सावरी–साधन प्रयोग गर्न पाउने छन् ।

त्यस्तै, सञ्चालन हुन पाउने अनुमति पाएका सावरी–साधनबाहेक अन्यलाई पेट्रोलपम्पमा इन्धनसमेत नदिइने चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।