मृत्यु संस्कारमा जानुपर्ने र विरामी बाहेकले चितवनमा सवारी पास नपाउने

चितवन , ५ बैशाख। 
चितवनमा लकडाउनमा कडाई गर्ने निर्णयसँगै सवारीपासमा समेत कडाई गरिएको छ । सवारी पास आवश्यक व्यक्तीहरुले अनलाइन मार्फत इ पासको लागि फारम दिन पाउने व्यवस्था सरकारले गरेको छ । पास दिने अधिकारी भने प्रत्येक जिल्ला प्रशासनलाई दिइएको छ । सोहि अनसुार जिल्ला प्रशासन कार्यालयले समेत इ पास दिन सुरु गरेको छ ।

प्रशासनले इ पासमा व्यापक कडाई गरेको छ । मृत्यु संस्कारमा जानुपर्ने र विरामीलाई मात्रै पास दिने स्पष्ट पारेको छ । जिल्ला प्रशासन कार्यालयले मृत्यु संस्कारमा सहभागी हुने र इमर्जेन्सी अवस्थामा नेपाल मेडिकल काउन्सीलमा दर्तावाला चिकित्सकले प्रमाण खुलाई सिफारिस गरेको अवस्थामा बाहेक कसैलाई पनि पास नदिने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी इश्वर सिंखडाले जानकारी दिए । यी दुई अवस्था बाहेककाले इ पासको लागि आवेदन नदिन समेत प्रशासनले आग्रह गरेकोे छ ।

अत्यावश्यक , एम्बुलेन्स , दमकल , सुरक्षाकर्मी , स्वास्थ्यकर्मी , खाद्यान्न , औषधी , तरकारी , दूध ढुवानी गर्ने लगायतका सवारीसाधनलाई भने पास आवश्यक नपर्ने तर प्रयोजन विपरित प्रयोग गरेको भेटे कारबाही हुने सिंखडाले बताए । त्यस्तै स्वास्थ्यकर्मीहरुले आफ्नो परिचयपत्र तथा डिउटी रोस्टर साथमा राख्नुपर्नेछ र घरबाट कार्यालयको रुटमा मात्रै सवारीसाधन प्रयोग गर्न पाउनेछन् ।