इच्छाकामना गाउँपालिका अध्यक्षद्वारा अलपत्र मजदूरको उद्धार

इच्छाकामना गाउँपालिका अध्यक्षद्वारा अलपत्र मजदूरको उद्धार

चितवन, ५ वैशाख ।

कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि विभिन्न जिल्लाबाट घर जान आएका मजदूरको इच्छाकामना गाउँपालिकाले उद्धार गरेको छ । गाडीमा आएकालाई झर्न नपर्ने व्यवस्था गरेको छ भने पैदल यात्रीलाई सामान झारेर फर्कदै गरेका ढुवानीका गाडीमा राखेर गन्तव्यतर्फ पठाउन थालेको छ ।

गाउँपालिका अध्यक्ष गीता गुरुङले आफ्नो गाउँपालिकामा आइ पुगेका सबैको उद्धार गरी गन्तव्यतर्फ पठाइएको जानकारी दिइन् । आफैं राजमार्गमा गएर फर्कदै गरेका ढुवानीका साधन रोकेर १६ वटा गाडीमा तीन समयभन्दा बढीलाई गन्तव्यतर्फ पठाइएको उनले बताइन् । पायकपर्ने ठाउँसम्म पुग्ने गाडीमा राखेर सम्बन्धित व्यक्तिलाई पठाइएको उनले जानकारी दिइन् ।

पश्चिम र पूर्वी नेपालका विभिन्न जिल्लामा पुग्ने मजदूरहरु रहेको उनको भनाइ छ । अध्यक्ष गुरुङले गाडीमा चढेर आएकालाई प्रहरीले जाँच गरी झार्ने गरेकोमा सो कार्य रोकेर जुन गाडीमा आएको छ त्यही गाडीमा पठाइएको जानकारी दिइन् । उनले भनिन्, ‘मेरो गाउँपालिकाभित्र जनताको बिचल्ली भएको टुलुटुलु हेरेर बस्न सक्दिन ।’

इच्छाकामना गाउँपालिका धादिङको रोराङ्ग गाउँपालिकासँग जोडिएको छ । राजधानीबाट फर्किएका मजदूरहरु यही बाटो हुँदै बाहिरी जिल्ला जाने गरेका छन् । रासस