भारतमा आगामी जनवरीदेखि नै कोभिड–१९ विरुद्धको खोप लगाउन सुरू

बीबीसी,३ पुष ।

भारतमा आगामी जनवरीदेखि नै कोभिड–१९ विरुद्धको खोप लगाउन सुरू गरिने भएको छ ।

बीबीसीमा प्रकाशित एक समाचारअनुसार सार्वजनिक स्वास्थ्य अधिकारीहरूले अबका केही हप्तामै खोपहरू आपत्कालीन प्रयोगका लागि स्वीकृत हुन सक्ने हुँदा खोप कार्यक्रम छिट्टै सुरू गरिने बताइएको छ ।

ad
ad
ad
अहिलेसम्म दुईवटा कम्पनीले यसका लागि आवेदन दिइसकेका छन् भने अन्य ६ वटा चाहिँ क्लिनिकल ट्रायलको विभिन्न चरणमा रहेको बताइएको छ ।

यो खोप कार्यक्रम अगस्टसम्म ३० करोड जनतामाझ पुर्याउने लक्ष्य रहेको छ । भारतमा अहिले कोरोना संक्रमितहरुको सङ्ख्या १ करोड पार गरिसकेको छ भने १ लाख ४४ हजार भन्दा धेरै बिरामीको मृत्यु भइसकेको छ ।

कुन– कुन खोप प्रयोगमा ल्याउने तयारी हुँदैछ ?

भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले बेलायती फर्मा कम्पनी ‘एस्ट्राजेनेका’ सँगको सहकार्यमा निर्माण गरेको ‘कोभिसिल्ड’ र आइसीएमआरसँग मिलेर भरत बायोटेकले बनाएको ‘कोभ्याक्सिन’ ले यसअघि नै आधिकारिक निकाय कहाँ स्वीकृतिका लागि आवेदन दिइसकेका छन् । यसबाहेक सुरक्षा र प्रभावकारिताको जाँच गर्न विभिन्न चरणमा ट्रायल गरिरहेका अरू कम्पनीहरु यसप्रकार छन् :

– अहमदावादमा अवस्थित जाइडस–केडिलाले निर्माण गरेको ‘जाइकोभ–डी’ खोप

– हइद्रावादमा आधारित भारतको सबैभन्दा पहिलो खोप निर्माता कम्पनीले पनि अहिले एमआइटीसँग मिलेर खोप निर्माण गरिरहेको छ ।

– पुनेमा अवस्थित भारतको पहिलो एमआरएनए प्रविधियुक्त खोप निर्माण गर्ने कम्पनीले अमेरिकाको सीएटलमा रहेको एचडीटी कोर्पोरेसनसँग सहकार्य गरी ‘एचजीसीओ १९’ खोप बनाइरहेको छ जसले जेनेटिक कोडमार्फत इम्युन प्रतिक्रिया उत्पन्न गराउने बताइएको छ ।

– सुइ आवश्यक नपर्ने नाकबाट दिइने खोप, न्याजल भ्याक्सिन जसलाई पनि भरत बायोटेकले निर्माण गरिरहेको छ ।

– रुसको स्पुतनिक–भी

–सेरम इन्स्टिच्युटले अमेरिकाको नोभाभ्याक्स कम्पनीसँग निर्माण गरिरहेको दोस्रो खोप

यी आठमध्ये चारवटा पूर्ण स्वदेशी खोप भएको अधिकारीहरुले बताएका छन् । त्यस्तै भारतले विदेशबाट लाखौँ डोजका अन्य खोपहरू ल्याउने तयारी गरिरहेको सम्बन्धमा भारतयि मिडियामा आएका समाचारलाई चाहिँ उनीहरुले अस्वीकार गर्दै देशभित्र बनिरहेको खोप नै पर्याप्त हुने हुँदा त्यसैबाट सन्तुष्ट रहेको बताएका हुन् ।उत्पादन क्षमताबारे पत्ता लगाउनका लागि मात्र सरकारले विभिन्न अन्तर्राष्ट्रिय खोप निर्माताहरुसँग कुराकानी गरेको र देशमा निर्मित खोपहरुको आवश्यकताबारे उनीहरुलाई जानकारी दिएको उनीहरुले बीबीसीसँग बताए ।

कसरी सञ्चालन गरिँदैछ खोप कार्यक्रम ?

यसमा जनवरी र अगस्टका बीचमा ३० करोड जनतालाई खोप लगाइने तयारी भइरहेको छ जस अन्तर्गत सबैभन्दा पहिले एककरोड स्वास्थ्यकर्मीहरुलाई खोप लगाइनेछ र त्यसपछि पुलिस र सेनालाई अनि फ्रन्टलाइनमा खटेका विभिन्न स्तरका कामदारहरुलाई प्राथमिकतामा राखिएको छ । यसपछिको अर्को योग्य समूह भनेको ५० वर्षभन्दा माथिको उमेरकाहरू हुनेछन् जसमा स्वास्थ्य समस्या भएकाहरुलाई पनि समावेश गरिएको छ ।

भारतले धेरै पहिलेबाट नै विश्वकै सबैभन्दा ठूलो खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ जसमा हरेक वर्ष ४ करोड शिशु र गर्भवती महिलाहरुलाई १२ रोगविरुद्ध खोप लगाइने गरिएको छ । र खोपहरु स्टक गर्न अनि त्यसलाई ट्रयाक गर्नका लागि पनि भारतसँग राम्रो विद्युतीय प्रणाली रहेको बताइएको छ ।

एकअर्ब जनतालाई खोप लगाउने योजना

सरकारी अधिकारीहरुका अनुसार यस कार्यक्रममा सहभागी देशभरका दुईलाख बढी नर्स मध्ये, एकलाख ५४ हजारलाई कोरोनाको खोप लगाउन नियुक्त गरिनेछ । त्यस्तै स्वयमसेवकका रुपमा खटाउन अन्तिम वर्षको पढाइ गरिरहेका नर्सिङका विद्यार्थीहरूलाई पनि बोलाउने तयारी भइरहेको छ ।

त्यस्तै अहिले नै उपलब्ध २ देखि ८ डिग्री तापमानमा स्टोर गर्न सकिने २९ हजार कोल्ड चेन, खोप राख्नका लागि प्रयोग हुनेछन् जसमार्फत यसको ओसारपसार अनि वितरण गरिनेछ । यता हरियाणा, कर्नाटक र वेस्ट बेंगालस्थित कृषिजन्य रिसर्च सेन्टरहरुमा माइनस ८० डिग्रीसम्मका कोल्ड स्टोरेज चेन पनि धेरै सङ्ख्यामा रहेको बताइएको छ जसले केही जटिल खोपहरूको वितरणलाई सहज बनाउनेछ ।

तर अझै पनि भारतले त्यति ठूलो जनसङ्ख्यामा कसरी खोप व्यवस्थापन गर्छ भन्ने चिन्ता कायमै छ । यसअघि एक स्वयमसेवकले खोप लगाएपछि आफूमा विभिन्न किसिमका गम्भीर लक्षण देखा परेको आरोप लगाउँदै सेरम इन्स्टिच्युटमाथि मुद्दा दायर गरेका थिए । यस सम्बन्धी स्वास्थ्य अधिकारीहरुले भनेका छन्, “हामीले यस्ता घटनालाई सम्बोधन गर्दा पारदर्शी भएर काम गर्न जरुरी छ । र त्यसका लागि गुणस्तरीय सञ्चालन प्रक्रिया अपनाउने योजना ल्याइएको छ ।”