सर्वोच्चले ‘हेर्न भ्याएन’ सभामुख सापकोटाको मुद्दा

काठमाडौं, ३ पुस ।

सभामुख अग्नि सापकोटाको मुद्दा हेर्न नभ्याइनेमा परेको छ । संवैधानिक इजलासमा परेको यो मुद्दा हेर्न नभ्याइनेमा परेको हो । सभामुख सापकोटाविरुद्धको मुद्दाको सुनुवाइ आज हुनेगरी पेसीमा चढाइएको थियो ।

यसअघि ३० फागुन २०७६ मा यो मुद्दा पेसीमा चढाइएको थियो, तर हेर्न नभ्याएपछि सुनुवाई सरेको थियो । त्यही मुद्दाको पेसी शुक्रबार तोकिएको हो । सापकोटाविरुद्ध काभ्रेकी पूर्णिमाया लामा, सुशील प्याकुरेल लगायतले २०६८ असार ६ गते दर्ता गरेको निवेदन सुनुवाइको पेसीमा चढेको हो।

काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यान मुद्दा अघि बढाउन माग गर्दै उनकी श्रीमती पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन्। उक्त रिटमा अन्तिम फैसलाका लागि संवैधानिक इजलासमा लामो समयदेखि विचाराधीन छ।

संवैधानिक परिषदसम्बन्धी अध्यादेश खारेजीको माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिटको आज तोकिएको सुनुवाइ पनि हेर्न नभ्याइनेमा परेको छ ।