कठारका सुत्केरी महिलालाई यातायात खर्च

कठारका सुत्केरी महिलालाई यातायात खर्च

चैत ५ गते । चालु आर्थिक वर्षमा सुत्केरी भएका महिलाहरुलाई खैरहनी नगरपालिका वडा नम्वर १० ले यातायात प्रोत्साहन खर्च दिएको छ । वडाले विनियोजन गरेको वजेटबाट यो वर्ष सुत्केरी भएका ८२ जना महिलाहरुलाई यातायात खर्च स्वरुप एक हजारका दरले प्रोत्साहन खर्च प्रदान गरेको हो । वडा कार्यालयमा बुधवार आयोजित एक कार्यक्रमका बीच खैरहनी नगरपालिका उपप्रमुख सुनिता थपलिया,वडाध्यक्ष कारीराम चौधरीले प्रोत्साहन खर्च वितरण गरेका थिए । नियमित स्वास्थ्य परिक्षण पश्चात स्वास्थ्य संस्थामा सुत्केरी भएका महिलाहरुलाई सो रकम प्रदान गरिएको हो । रकम पाएका महिलाहरुले वडाको काम प्रति खुसी व्यक्त गरे । कठार स्वास्थ्य चौकीले कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रमकी प्रमुख अतिथी समेत रहेकी खैरहनी नगरपालिका उपप्रमुख थपलियाले सुरक्षित रुपमा सुत्केरी गराउन वडाले उपलव्ध गराएको यातायात खर्चले प्रोत्साहन हुने वताईन् ।   स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष समेत रहेका खैरहनी १० का वडाध्यक्ष कारीराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा कठार स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ड नविन अधिकारीले कार्यक्रम संचालन गरेका थिए ।