नेपालकी दोस्रो कोरोना संक्रमित युवती २७ दिनपछि फर्किइन् घर

नेपालकी दोस्रो कोरोना संक्रमित युवती २७ दिनपछि फर्किइन् घर

काठमाडौं ,६ वैशाख

नेपालकी दोस्रो कोरोना संक्रमित युवती निको भएर घर फर्किएकी छन् । फ्रान्सबाट आएकी १९ वर्षीया एक युवती २७ दिन उपचारपछि शनिबार घर फर्किएकी छन्। फ्रान्सबाट कतार हुँदै नेपाल आएकी उनीमा कोरोनाभाइरस पुष्टि भएपछि गत चैत ९ गते राति उपचारका लागि टेकु अस्पताल भर्ना भएकी थिइन्।

उनी २७ दिन अस्पताल बसेर आज घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका प्रेस विज्ञ माधव तिवारीले सेतोपाटीलाई बताए। गत चैत ९ गते बेलुकी उनमा कोरोनाभाइरस संक्रमण देखिएको थियो। त्यसपछि उनी अस्पताल भर्ना भइन्। उनी गत चैत ४ गते नेपाल आएकी थिइन्।

फ्रान्सबाट नेपाल आएपछि उनी होम क्वारेन्टाइन बसेकी थिइन्। उनलाई कोरोना देखिएपछि परिवारका सदस्य पनि होम क्वारेन्टाइन बसेका थिए।

नेपालमा देखिएको कोरोनाभाइरसको यो दोस्रो केस थियो। चीनबाट आएका पहिलो विरामी पनि उपचारपछि घर फर्किसकेका छन्।