
चितवन,४ मंसिर।
चितवनमा कार्तिक महिनामा सवारी दुर्घटनामा परेर १० जनाले ज्यान गुमाएका छन् , भने २७ जना गम्भिर घाइते भएका छन् । २७ जना सामान्य घाइते भएको ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ । दुर्घटनामा परी मृत्यु भएका १० जना मध्ये ९ जना पुरुष र एक जना महिला छन् ।
दशैँ र तिहार परेको कार्तिकमा ३७ वटा सवारी दुर्घटना भएका थिए । दुर्घटनामा ५९ वटा सवारी साधन संलग्न रहेको ट्राफिक प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए । यससँगै चालु आर्थिक बर्ष २०७७÷७८ को ४ महिनामा सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ । गम्भिर घाइते हुनेको संख्या ८६ पुगेको छ ।
ट्राफिक प्रहरीका अनुसार साउनमा ८ जना, भदौमा ३ जना र असोजमा ९ जनाको सवारी दुर्घटनाबाट मृत्यु भएको थियो । दुर्घटनाबाट कार्तिक मसान्तसम्ममा मृत्यु भएकाहरुमा २५ जना पुरुष, २ जना महिला, १ जना बालक र २ जना बालिका छन् । यस अवधिमा जिल्लामा जम्मा १२१ वटा दुर्घटना भएका थिए । सबैभन्दा बढी दुर्घटना सवारीको तिव्र गतिका कारण रहेको भट्टले बताए ।
चालु आर्थिक बर्ष २०७७÷७८ को कार्तिक मसान्तसम्ममा ट्राफिक नियम मिच्ने ९ हजार ९ सय ५० वटा सवारी साधनलाई कारबाही गरी ८० लाख १८ हजार रुपैयाँ जरिवाना असुल गरिएको छ । तिव्र गतिका ४४८ वटा, सिट क्षमता भन्दा बढी यात्रु चढाउने ४४६ वटा, मादक पदार्थ सेवन गरेर सवारी चलाउने सय वटा, लाइसेन्स साथमा नभएका ६६७ वटा र रुट परमिट नभएको २७२ वटा सवारीलाई कारबाही गरिएको ट्राफिक कार्यालयले जानकारी दिएको छ ।