कोरोनाविरुद्ध सचेतना बढाउन अमेरिकाले नेपाललाई दियो २१ करोड सहयोग

कोरोनाविरुद्ध सचेतना बढाउन अमेरिकाले नेपाललाई दियो २१ करोड सहयोग

काठमाडौं,६ चैत्र

अमेरिकी सरकारले नेपाल सरकारको नोभल कोरोनाभाइरस (कोभिड–१९) सम्बन्धी तयारी तथा प्रतिकार्यलाई सशक्त बनाउन  नेपाललाई २१ करोड (१८ लाख अमेरिकी डलर) रुपैयाँ बराबरको  सहयोगको घोषणा गरेको छ।

यो रकम अमेरिकी अन्तर्राष्‍ट्रिय विकास नियोग (युएसएआइडी) को संक्रामक सरुवा रोगविरुद्ध आपत्कालीन सञ्‍चित कोषको एक हिस्सा हो।

कुल रकममध्येको झन्डै ११ लाख डलर कोभिड–१९ को रोकथामबारेमा समुदायहरूलाई शिक्षित बनाउन र उक्त भाइरससम्बन्धी गलत जानकारी विरुद्ध लड्न युएसएआइडीका चालु स्वास्थ्य कार्यक्रमहरूको विस्तार गर्न प्रयोग हुनेछ। बाँकी ७ लाख डलरले विश्‍व स्वास्थ्य संगठनमार्फत कार्यान्वयन भएका हाल जारी तयारी तथा प्रतिकार्य क्रियाकलापहरूलाई टेवा पुर्‍याउनेछ।

यस आपत्कालीन कोष अमेरिकी जनताको उदार सहयोगका कारण सम्भव भएको जनाइएको छ। यो रकम २०७६ फागुन २३ गते अमेरिकी सरकारद्वारा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएका व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) को खेपका अतिरिक्त हो।