चितवनमा हावाहुरी र असिनापानीले करोडौंको क्षति, केराखेती ,तरकारीसँगै घरमा समेत क्षति

चितवनमा हावाहुरी र असिनापानीले करोडौंको क्षति, केराखेती ,तरकारीसँगै घरमा समेत क्षति

चितवन , ७ बैशाख।

चितवनमा शुक्रबार र शनिबार आएको हावाहुरी सहित आएको असिनापानीले करोडौंको क्षति भएको छ । चितवनको विभिन्न क्षेत्रमा लगाइएको केरा तथा तरकारी खेतीमा नोक्सानी गरेको हो ।

हावाहुरीले रत्ननगर,कालिका,खैरहनी र राप्ती नगरपालिकामा किसानले लगाएको केराखेतीमा ठुलो क्षती पुर्याएको चितवन केरा उत्पादक संघका निवर्तमान अध्यक्ष विष्णुहरी पन्तले वताए । उनका अनुसार करिव ५० विगाहामा लगाईएको केराखेतीमा क्षती पुर्याएको छ । लकडाउनले गर्दा एकिन तथ्यांक संकलन गर्न कठिन भएपनि करिब २ करोड वरावरको क्षती भएको पन्तले बताए । हावाहुरीले पसाएका केरा,तयारी केरा र निस्कने वेला भएको केरामा क्षती पुर्याएको हो । चितवनमा करिव २ हजार हेक्टर जमिनमा ७ सय भन्दा वढि किसानले केराखेती गर्दै आएका छन् ।

त्यस्तै तरकारी खेती तथा अन्नवालीमा लाखौंको क्षति पुगेको छ । हावाहुरीले गर्दा आफूले ५ कठ्ठामा लगाएको बोडी पूर्णरुपमा नष्ट भएको राप्ती ४ का हरि प्रसाद बर्तौलाले बताए । कृषिमा मात्रै नभएर घरमा समेत क्षति भएको छ । पूर्वीचितवनको राप्ती नगरपालिकाको विभिन्न क्षेत्रमा हावाहुरी सहित आएको असिनापानीले घरको छाना उडाएको छ भने जस्तापाता र घरको झ्यालमा समेत क्षति पुर्याएको छ ।

ठूलो असिनाले गर्दा घरको जस्ताहरु नै प्वाल पारेको छ भने झ्याल तथा सवारीसाधनको सिसाहरु समेत फुटेको छ । राप्तीको पनि विशेषगरेर राप्ती ४ मा बढी क्षति भएको हो । राप्ती ४ मा मात्रै करिब एक सयघरको जस्तामा क्षति पुगेको र ५ वटा घरको जस्तापाता उडाएको राप्ती ४ का वडा अध्यक्ष शमशेर लामाले जानकारी दिए ।