प्रहरीको नाम लिदै असुली , प्रहरी भने बेखबर

प्रहरीको नाम लिदै असुली , प्रहरी भने बेखबर

जलेश्वर , ६ जेठ
जलेश्वरमा प्रहरीको नाम लिदै अवैध रकम असुली हुने गरेको पाइएको छ । जलेश्वर निवासी एक व्यक्तीले आफूलाई प्रहरीको ठूला हाकिमहरुको नजिकको मान्छे बताउदै व्यापारीहरुबाट अवैध रुपमा रकम माग्ने गरेको खुलेको छ ।

जलेश्वर नगरपालिका वडा नम्बर ६ निवासी मनोज मिश्रले कहिले नेपाल प्रहरीको डिआइजी ,कहिले सशस्त्रको डिआइजी त कहिले भन्सारको हाकिमको मान्छे भन्दै व्यापारीहरुबाट रकम माग गर्ने गरेको आरोप लागेको छ । प्रदेशमा जो प्रहरी प्रमुख भएर आए पनि मन जित्न सफल मिश्रले अहिले दुई नम्बर प्रदेशमा रहेका विभिन्न ब्यक्ति तथा सर्वसाधारण र ब्यापारीहरु समेतलाई डर , त्रास धम्की दिदै रकम उठाउने गरेको गुनासो बढेको छ । मिश्रको अशुली धन्दाले आजित भएको एक व्यवसायीले बताए । प्रहरीसँग राम्रै पहुँज भए जसरी कुरा गरेको अडियो सुनाउने गरेको अनि पैसा माग्छन् , नदिए कार्वाही गर्न भनीदिन्छु भन्दै धम्की दिने गरेको स्रोतले जनाएको छ ।

मिश्रले प्रहरीको नाम बेचेर अवैध असुली गरिरहदा पनि प्रहरीले खासै चाँसो देखाएको छैन । यता दुई नम्बर प्रदेश प्रहरी कार्यालयका एसपी जयराज सापकोटाले भने आफूहरु समक्ष त्यस्तो कुनै सूचना एवंम् गुनासो नआएको बताए । त्यस्तो गुनासो आए त्यस्ता व्यक्तीलाई कारबाही गरिने उनले प्रष्ट पारे । यसबिषयमा पहिलो पटक आफूले कुरा सुनेको र यसबिषयमा आन्तरिक रुपमा अनुसन्धान गर्ने प्रहरी उपरिक्षक सापकोटाले बताए ।