महोत्सवस्थलमै नवनिर्वाचित पदाधिकारीलाई स्वागत

महोत्सवस्थलमै नवनिर्वाचित पदाधिकारीलाई स्वागत

माघ ६ गते । उद्योग वाणिज्य संघ चितवनको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई रत्ननगर उद्योग बाणिज्य संघले स्वागत गरेको छ । टिकौली चौरमा जारी रत्ननगर महोत्सवस्थलमै उद्योग वाणिज्य संघ चितवनको नवनिर्वाचित टिमलाई सोमवार स्वागत गरेको हो । रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीसहित पदाधिकारी तथा सदस्यहरुले उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठसहितको टिमलाई फुलमाला र खादा लगाएर स्वागत गरेका थिए । दुई उद्योग बाणिज्य संघसंग सम्वन्ध सुमधुर वनाउन नयाँ कार्यसमितिहरुलाई रत्ननगरले स्वागत गर्दै आएको छ । महोत्सवको एघारौ दिन सोमवार पूर्वी चितवनस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । खेल संयोजक दिनेश कट्टेलका अनुसार १५ टिम सहभागी प्रतियोगितामा सोमबार १० वटा खेल भएका छन् । प्रतियोगिताको फाइनल खेल मंगलबार हुने कट्टेलले बताए । त्यस्तै मंगलबार नै रत्ननगरका जनप्रतिनिधि र रत्ननगर महोत्सवको स्टेरिङ समितिबीच डोरी तान्ने प्रतियोगिता, घैँटो फुटाइ, म्युजिकल चेयर हुने कट्टेलले जानकारी दिए । महोत्सव अन्तर्गत पुस २९ देखि शुरु भएको चिकेन एण्ड एग फुड फेस्टिबलको समेत सोमवार समापन गरिएको संयोजक ज्ञानबहादुर विसुरालले बताए । पोल्ट्री र पोल्ट्रीजन्य पदार्थको खपत बढाउने उद्देश्यसहित पूर्वी चितवनको टाँडी चोकमा फुड फेस्टिबलको आयोजना गरिएको थियो । महोत्सवको एघारौँ दिनसम्म आइपुग्दा रत्ननगर महोत्सव अवलोकन गर्ने दर्शकको सङ्ख्या तीन लाख नाघेको छ । महोत्सव मूल संयोजक रेग्मीका अनुसार सोमबारसम्म तीन लाख भन्दा बढीले महोत्सव अवलोकन गरेका हुन् । सोमबार महोत्सवमा चर्चित आधुनिक गायक प्रमोद खरेलले दर्शकलाई उफारे । महोत्सवमा माछा, केरा, तरकारी तथा फलफूल, दुग्धजन्य पदार्थ, पोल्ट्रीलगायत कृषि व्यवसायसँग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवम् मल बीउ विजनको प्रदर्शनीका साथै माछा, केरा, तरकारी तथा फलफूल, च्याउ, पोल्ट्रीका छुट्टाछुट्टै परिसर सहित ५२१ वटा स्टल राखिएको संघका महासचिव निराजन खनालले बताए ।