संसद विघटन भएपछि सेयर बजारमा ९६ अंकको पहिरो

काठमाडौ,५ पुष ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनका लागि गरेको प्रस्ताव राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेपछि सेयर बजारमा इतिहासकै दोस्रो ठूलो गिरावट आएको छ।

९६. ८८ अंकले झरेको परिसूचक १९३५ अंकमा कायम भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसामु प्रस्ताव गरेका थिए। जसकारण बजार खुलेदेखि नै नेप्से ओरालो लागेको थियो।

ओलीको प्रस्तावपछि राष्ट्रपतिले पनि प्रतिनिधिसभा विघटन गरेकी छन्।  साथै ताजा जनादेशका लागि वैशाख १७ गते पहिलो चरणमा र २०७८ वैशाख २७ गते दोस्रो चरणमा प्रतिनिधिसभाको चुनाव मिति तय गरिएको छ।

यस दिन कारोबार रकम भने उल्लेख्य देखिन्छ। १९८ कम्पनीको ८ अर्ब ६७ करोड रुपैयाँको सेयर किनबेच भएको छ। यस दिन सबै समूहहरु घटेका छन्।

बैंकिङ ४४, ब्यापार ८६, होटल ५१, विकास बैंक ८०, जलविद्युत ११०, फाइनान्स २०, निर्जीवन बीमा समूह ५२९, उत्पादन १४०, अन्य १३९ र जीवन बीमा समूह ६६९ अंकले घटेका छन्।

यस दिन सूर्योदय लघुवित्तको मूल्य १० प्रतिशतले घटेको छ। नेरुढे लघुवित्त, स्वाबलम्वन लघुवित्त, छ्याङ्दी हाइड्रोपावर, नेपाल पुनर्बीमा कम्पनी, माथिल्लो तामाकोसी, नेपाल टेलिकमको मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको छ।

समग्र बजार घट्दा युनाइटेड इदी मर्दीको मूल्य ९ प्रतिशतले बढेको छ। त्यस्तै एभरेष्ट इन्स्योरेन्सको संस्थापक समूहको मूल्य ७ प्रतिशतले बढेको छ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १ अर्ब २ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै पुनर्बीमा कम्पनीको ७६ करोड, एनआइसी एसिया बैंकको ४६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो। नविल बैंकको ३८ करोड रुपैयाँको सेयर किनबेच भएको छ।