सञ्चारमन्त्री बास्कोटालाई तत्काल बर्खास्त गर्न कांग्रेसको माग

काठमान्डौ,८ फागुन 

सेक्युरिटी प्रीन्टिङ प्रेस खरिदको विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले घुस मागेको भन्ने विषयमा विवादास्पद अडियो सार्वजनिक भएको छ ।

अडियो सार्वजनिक भएसँगै सञ्चार मन्त्री बास्कोटाले पदबाट राजीनामा दिनुपर्ने भन्दै चौतर्फीरुपमा माग उठेको छ । यसै क्रममा नेपाली काङ्ग्रेसले पनि प्रेस विज्ञप्ति निकाल्दै सञ्चार मन्त्री बास्कोटालाई पदबाट बर्खास्त गर्न र निष्पक्ष अनुसन्धान प्रक्रियालाई सघाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ ।

‘७० करोड रुपैयाँ कमिसन सञ्चार मन्त्रीले मागेको अडियो `हाम्रा कुरा´ मार्फत सार्वजनिक भइसकेको अवस्थामा निजलाई तत्काल बर्खास्त गर्न र निष्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन नेपाली काङ्ग्रेस सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलिलाई सार्वजनिक रुपले आग्रह गर्दछु, विज्ञप्तिमा भनिएको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको विषयमा ठूलो रकमको अनियमितता तयारी भइरहेको थियो भन्ने अनुमानित विवरण यसअघि नै सार्वजनिक भएका थिए ।