भारतमा मिनीबस दुर्घटना हुँदा ६ नेपाली तीर्थयात्रीको मृत्यु , १८ जना घाइते

भारतमा मिनीबस दुर्घटना हुँदा ६ नेपाली तीर्थयात्रीको मृत्यु , १८ जना घाइते

काठमाडौं, ८ फागुन ।

भारतको सलेम बेंगलुरु नेशनल हाइवेमा मिनीबस दुर्घटना हुँदा ६ जना नेपाली तीर्थयात्रुको ज्यान गएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार विहीबार बिहान नेपाली तीर्थयात्री चढेका मिनीबस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको हो ।

यसै दुर्घटनामा परी अन्य १८ जना घाइते भएका छन्, उनीहरुको अहिले एक स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ । ज्यान गुमाउनेमा चार पुरुष र दुई जना महिला रहेका छन् ।

बेंगलुरुतर्फ जाँदै गरेको उक्त मिनीबस राजमार्गमा अर्को बससँग एक–आपसमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

उक्त मिनीबसमा ३४ जना यात्रु सवार थिए । उनीहरु गत माघ २३ गते ३५ दिनको तीर्थयात्राका लागि भारत गएका थिए । दुवै बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जनाएको छ ।