कोरोना आशंकित बिरामीले नवलपरासीदेखि काठमाडौंसम्मका अस्पताल पाएनन्

कोरोना आशंकित बिरामीले नवलपरासीदेखि काठमाडौंसम्मका अस्पताल पाएनन्

काठमाडौं,७ चैत्र ।

नवलपरासीमा कोरोना आशंका गरिएका एक बिरामी उपचार नपाएर अलपत्र परेका छन् ।

चारदिनदेखि सुख्खा खोकी र ज्वरोले च्यापेका रमेश चौधरी (नाम परिवर्तन)लाई नवलपरासीदेखि काठमाडौंसम्मका अस्पतालले भर्ना लिन नमानेपछि अलपत्र परेका छन् । अहिले बुटवलको अस्पतालमा जबरजस्ती राखिएको भए पनि चिकित्सक नजिकै पर्न डराएको चौधरी परिवारले बाह्रखरीलाई बताए ।

रामग्राम नगरपालिका– १६ निवासी चौधरीलाई अस्पतालले उपचार नै गर्न नमानेको वडाध्यक्ष भगवान् थारूले बताए ।

भगवान्‌का अनुसार कोरोना संक्रमणका आशंका गरिएका बिरामी ट्रक चालक हुन् । बुटवल, चितवन र काठमाडौंसम्म ट्रक चलाउने उनलाई सुरुमा रुघा, त्यसपछि खोकी आएको र ज्वरोको मात्रा बढ्दै गएपछि परिवारले अस्पतालको खोजी गरेका थिए ।

रमेशलाई सुरुमा नवलपरासीकै अस्पतालमा पुर्‍याएको थियो । त्यहाँको अस्पतालले भर्ना लिन नमानेपछि परिवारले बुटवल पुर्‍याएको थियो । त्यहाँ पनि अस्पतालले भर्ना लिन मानेन । बरु चितवन लैजान भन्यो ।

चितवनको अस्पतालले पनि उही जवाफ दिएपछि काठमाडौं कलंकीको अस्पतालमा ल्याइएको वडाध्यक्ष भगवान् बताउँछन् ।

कलंकीको अस्पतालले बिरामीको लक्षण कोभिड–१९ सँग मिल्दोजुल्दो भएकाले टेकु लगेर परीक्षण गर्न सुझाव दिएको थियो ।

परिवारसँग खर्चको अभाव भएकाले फर्काएर घरै लगेर स्थानीय अस्पतालसँग अनुरोध गरेको भगवान् बताउँछन् ।

“कुनै अस्पतालले भर्ना लिन नमानेपछि हामीले बुटवल पठाएका छौैं । त्यहाँ पनि उपचार राम्रो नपाएको परिवारले बताइरहेको छ । परिवारको अवस्था दयनीय भएकाले स्थानीयले सहयोग उठाइरहेका पनि छन् । तर, उपचार पाउन सकेका छैनन् । अस्पताल पुगिसकेको बिरामीलाई चिकित्सकले बेवास्ता गर्नु लापरबाही हो,” भगवान्‌को भनाइ छ । बाह्रखरीबाट साभार