
काठमाडौँ, ७ चैत ।
नेपाली कांग्रेसका तत्कालीन सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आज दशौं स्मृति दिवस मनाइँदै छ ।
कोइरालाको आजभन्दा १० वर्षअघि ०६६ साल चैत्र ७ गतेका दिन निधन भएको थियो । चारपटकसम्म मुलुकको प्रधानमन्त्री भएका कोइराला गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री समेत हुनुहुन्थ्यो ।
कोइरालाको नेतृत्वमा तत्कालीन विद्रोही समूह नेकपा माओवादीलाई मूलधारको राजनीतिमा ल्याउँदै राष्ट्रिय राजनीतिको कोशेढुंगाका रुपमा रहेको विस्तृत शान्ति सम्झौता भएको थियो । कोइरालाकै अगुवाइमा ०६२र६३ मा दोस्रो जनआन्दोलन सफल भएको थियो ।
एक दशक लामो सशस्त्र युद्धमा रहेको तत्कालीन नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन स्व। कोइरालाले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।
६० वर्षभन्दा धेरै समय राजनीतिमा संलग्न भएका कोइरालाको जन्म १९८१ साल असार १८ गते भारतको विहारमा भएको थियो । ०६६ साल चैत ७ गते उनको निधन भयो । नेपाली राजनीतिमा कोइरालाको योगदान अतुलनीय रहेको छ ।