खैरहनीमा दोश्रो चरणको राहत वितरण सुरु

खैरहनीमा दोश्रो चरणको राहत वितरण सुरु

चितवन,८ वैशाख  ।

लकडाउन जारी गरेपछि खैरहनी नगरपालिकाले दोश्रो चरणमा राहत वितरण सुरु गरेको छ । चैत २० र २१ गते पहिलो चरणमा राहत वितरण गरेको खैरहनीले सोमवारदेखी दोश्रो चरणको राहत वितरणको काम सुरु गरेको मेयर लालमणि चौधरीले जानकारी दिए । राहत वितरणका लागि खैरहनी वडा नम्वर १,२,३,४,५ र ११ लाई नगरपालिकाबाट राहत पठाईएको छ ।

वडा नम्वर १ ले वितरणको काम सोमवारदेखीनै सुरु गरेको छ । लकडाउनका कारण ज्याला मजदुरी गर्ने र विपन्न परिवारलाई खानामा समस्या भएपछि पुन राहत वितरण थालिएको मेयर चौधरीले वताए । राहत वितरणका लागि कार्यविधि वनाएर नगरपालिकाले मापदण्ड वनाएको छ । एक जना सम्म रहेकालाई ५ किलो चामल,आधा लिटर तेल,एक पोका नुन र एक किलो दाल,२ जना रहेको परिवारलाई १० किलो चामल,एक किलो दाल,एक पोका नुन र एक लिटर तेल,३ देखी ४ जना सम्मको परिवारलाई १५ किलो चामल,एक किलो दाल,एक पोका नुन र एक लिटर तेल तथा ५ जना वा सो भन्दा माथिका परिवारलाई २० किलो चामल,एक लिटर तेल,डेढ किलो दाल र एक पोका नुन वितरण गरिने मेयर चौधरीले वताए ।

नगरका १३ वटै वडाका टोल विकास संस्थाबाट ज्याला मजदुरी गर्नेहरुको विवरण संकलन गरिएको थियो । विवरण अनुसार नगर भित्रका ४ हजार ४ सय २२ परिवारले राहत पाउने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले वताए । राहतका लागि सवैभन्दा वढि वडा नम्वर १३ बाट ६ सय २३ जना परिवार तथा सवैभन्दा कम वडा नम्वर ११ बाट १ सय ३६ परिवारको तथ्यांक आएको छ । खैरहनी नगरपालिका उपमेयर सुनिता थपलियाले लकडाउनको अवस्थालाई मध्यनजर गर्दै नगरपालिकाले आवश्यकता अनुसार राहत वितरण गरिएको वताईन् । यसअघि छुटफुट हुँदा गुनासो आएको हुँदा यस पटक कार्यविधि अनुसारनै तथ्यांक लिईएको उनको भनाई छ । पहिलो चरणमा खैरहनी नगरपालिकाले ३ हजार ६ सय ५९ घरधुरीलाई राहत वितरण गरिएको थियो । राहत वितरण अघि नगरपालिकाले सर्वपक्षिय वैठक राखेर यसबारे छलफल पनि गरिसकेको छ ।