खैरहनीको अक्सफोर्ड सहकारीको ठगी , ८ लाख ऋण दिदाँ १४ लाखको भरपाई

खैरहनीको अक्सफोर्ड सहकारीको ठगी , ८ लाख ऋण दिदाँ १४ लाखको भरपाई

बिकास पौडेल

चितवन , ७ माघ। 
चितवनमा सहकारीमा अनियमिता र ठगी हुने गरेको जनगुनासो आइरहेको बेला पूर्वीचितवनको खैरहनीमा रहेको अक्सफोर्ड सहकारीले पनि ठगी गरेको फेला परेको छ । खैरहनी ८ पर्सा बजारमा रहेको अक्सफोर्ड बहुउद्देश्यीय सहकारी संस्थाले सेवाग्राही ऋणीलाई ठगी गरेको पाइएको हो ।

खैरहनी नगरपालिका वडा नम्बर ७ निवासी विमला चौधरीले सहकारीले आफूलाई लाखौको ठगी गरेको दावी गरेकी छिन् । आफूले सहकारीबाट दुईपटक गरि जम्मा ९ लाख ३० हजार ऋण लिएको तर सहकारीले २० लाख लिएको भन्दै किर्ते कागज गरि आफूबाट २१ लाख रुपैयाँ लिएको चौधरीले बताइन् । सहकारीबाट २०७४ मंसिरमा ५ लाख लिएको र चैतमा ४ लाख ३० हजार रुपैँया लिएको र सोको सावा ब्याज बापत चैतको अन्तिमसम्ममा कुल २४ लाख ७५ हजार रुपैँया बुझाएको दावी गरिन् । यताँ सहकारीले भने चौधरीलाई केहि समयको लागि २० लाख रुपैँया सापटी स्वरुप दिएको जनाएको छ ।कुनैपनि सहकारीले सापटी भनेर व्यक्तीबिशेषलाई रकम दिन नमिल्ने खैरहनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम शर्माले बताए ।

सहकारीले सापटी भनीरहदाँ १८ प्रतिशत ब्याज भने लिएको बताउँछन् । चौधरीले २० लाख रुपैयाँ लगेको र सोको सावा र ब्याज बाफत चैतमा चौधरीसँग बैकमा गएर २१ लाख रुपैँया एकमुष्ट ल्याएको संस्थाका उपाध्यक्ष एवंम् ऋण समितिका संयोजक राजकुमार सुयलले बताए । त्यसलगत्तै पुन ८ लाख रुपैयाँ ऋण लिएको र सोको लागि जग्गा धितो राखेको चौधरीले बताइन् । सहकारीले समेत ८ लाख रुपैँया दिएको स्विकार गरेको छ । ८ लाख नगद दिदाँ समेत भरपाई भने १४ लाखको फेला परेको छ । यसले सहकारीले आन्तरिक रुपमा कागजपत्र मिलाई ऋणीहरुलाई ठगी गरेको प्रष्ट देखिएको छ ।

 


यो खबर बाहिर आउने डरले सहकारीले अहिले पिडित महिला र परिवारलाई जग्गा फुकुवा गरिदिने र कुनैपनि लेनदेन बाँकी नरहेको कागज गर्न दवाव दिइरहेको छ । त्यस्तै कार्यालयको कागजात समेत मिलाउन सुरु गरेको छ । २०७५ साल असारमा ऋण लिएको भनिएकी विमलाको खाता संस्थाको १६२ नम्बरमा राखिएको छ जब की २०७६ पुषमा ऋण लिएका एक ऋणीको चौधरीको भन्दा अगाडी १६१ नम्बरमा रहेको छ । यसले पनि पुष्टि गर्छकी संस्थाले अहिले आएर कागजपत्र मिलाउने प्रयास गरिरहेको छ ।