बालश्रम मुक्त इट्टा उद्योगलाई सम्मान

माघ ७ गते । बालश्रम मुक्त वनेका चितवन र धादिङका ४ वटा इट्टा उद्योगलाई सम्मान गरिएको छ । इट्टा उद्योगलाई बालबालिकाहरुको प्रयोग गर्ने गरेको आरोप लाग्दै आएको छ । इट्टा उद्योगमा कार्यरत मजदुरका छोराछोरीको शैक्षिक क्षेत्रमा काम गर्दै आएको ग्लोवल फेयरनेश इनेसेटिभ नेपालले चितवनका ३ वटा र धादिङको १ वटा उद्योगलाई सम्मान गरेको हो । चितवनमा युथ क्लव नारायणगढ मार्फत र धादिङमा प्रयास नेपाल मार्फत बेटर ब्रिक नेपाल नामक परियोजना संचालन गरिरहेको छ । सोही परियोजनाले बालश्रम मुक्त गर्ने चितवनको खनाल इट्टा उद्योग,धरेल इट्टा उद्योग र गणेश इट्टा उद्योग तथा धादिङको एभरेष्ट इट्टा उद्योगलाई सम्मान गरिएको प्रयास नेपालकी कार्यक्रम संयोजक सुनिता कडेंलले वताईन् । बागमती प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरणमन्त्री अरुण नेपालले ति उद्योगका संचालकहरुलाई दोसल्ला ओढाई प्रसंसा पत्रले सम्मान गरे । सरकारले जारी गरेको श्रमऐनमा उल्लेखित मापदण्डहरु पुरा गरि प्रमाणीकरण भएका ४ वटा इट्टालाई समेत सम्मान गरिएको थियो । सो अवसरमा उद्योग मन्त्री नेपालले उद्योगमा स्वस्थ वातावरण हुन नसकेको वताए । विना योजना उद्योग व्यवसाय गर्ने चलन छ मन्त्री नेपालले भने – अस्वस्थ्य प्रतिस्पर्धाले घाटा व्याहोर्नु पर्ने स्थिती छ । गुणस्तरीय उत्पादन गरेर स्वस्थ्य प्रतिस्पर्धा गर्न मन्त्री नेपालले सुझाव दिए । आर्थिक गतिविधीलाई वढाउन नसके समृद्धी नआउने भन्दै मन्त्री नेपालले उद्योगमैत्री निति तथा त्यसका लागि उपयुक्त वातावरण राज्यले वनाउने उल्लेख गरे । प्रदेश सरकारले पर्यटक,कृषि र उद्योगलाई प्राथमिकता दिएर काम गरिरहेको उनको भनाई थियो । नेपाल इट्टा व्यवसायी महासंघका उपाध्यक्ष एवंम् चितवन जिल्ला अध्यक्ष नारायण प्रसाद सापकोटाले बालवच्चासहित उद्योगमा आएर काम गर्नु पर्ने अवस्था रहेपनि इट्टा उद्योगहरु आधुनिक प्रविधिबाट संचालन भईरहेको वताए । कार्यक्रम ग्लोवल फेयरनेश नेपालका राष्ट्रिय निर्देशक सुरेश पण्डितको अध्यक्षतामा भएको थियो ।