विश्वभर कोरोनाको कहर : संक्रमित सङ्ख्या साढे २४ लाखभन्दा माथि, ६ लाख ५२ हजार जना निको भए

विश्वभर कोरोनाको कहर :  संक्रमित सङ्ख्या साढे २४ लाखभन्दा माथि, ६ लाख ५२  हजार जना निको भए

एजेन्सी,९ वैशाख

विश्वका २ सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिँदा २४ लाख ८२ हजार भन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये ६ लाख ५२ हजार ४ सय ८० जना निको भएका छन् ।

१६ लाख ६२ हजारभन्दा धेरैको उपचार चलिरहेको छ । जसमध्ये ५७ हजार ३ सय ४८ जना गम्भीर अवस्थामा रहेका र बाँकी १६ लाख ५ हजार भन्दा धेरैको अवस्था सामान्य रहेको वल्डओमिटरले जनाएको छ । १ लाख ७० हजार भन्दा धेरैको भने ज्यान गएको छ । यूरोपमा मात्र ज्यान गुमाउनेको संख्या एक लाख नाघेको छ । ११ लाख भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । ३ लाख २१ हजार जना निको भएका छन् ।

स्पेनमा मात्रै २ लाख भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने साढे २० हजार भन्दा धेरैको ज्यान गएको छ । यस्तै इटालीमा २४ हजारभन्दा धेरैको ज्यान गएको । १ लाख ८१ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । यसैगरी फ्रान्समा पनि २० हजारभन्दा धेरैको ज्यान गएको छ ।

यूरोपपछि उत्तर अमेरिका प्रभावित छ । त्यहाँ ८ लाख ५० हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएकोमा संयुक्त राज्य अमेरिकामा सबैभन्दा धेरै ७ लाख ९१ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएको छ, ४२ हजारभन्दा धेरैको ज्यान गएको छ । त्यहाँ गएको २४ घण्टामा १९ सय भन्दा धेरैको ज्यान गएको छ ।

उत्तर अमेरिकामा अहिलेसम्म ८८ हजारभन्दा धेरै निको भएका छन् । एसियामा सबैभन्दा धेरै संक्रमित टर्कीमा छन् ।

त्यहाँ ९० हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने २१ सय भन्दा धेरैको ज्यान गएको छ । यसैगरी इरानमा ५२ सय भन्दा धेरैको ज्यान गएको छ भने ८३ हजार ५ सय भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ ।