लकडाउन पछि असिनापानी किसानका लागि अभिसाप

लकडाउन पछि असिनापानी किसानका लागि अभिसाप

ध्रुर्वराज खनाल , 

चितवन,९ वैशाख ।

लकडाउनको समस्या झेल्दै आएका चितवनका किसानहरु लगातार तिन दिनदेखी जारी हावाहुरी र असिनापानीका कारण मर्कामा परेका छन् । किसानले उत्पादन गरेको अन्नवाली,तरकारीवाली ,केराखेतीमा हावाहुरी र असिनापानीले क्षती पुर्याएपछि किसान मर्कामा परेका हुन् । तीन दिन यता जिल्लामा फरक फरक स्थानमा भीषण हावाहुरी र असिनापानी परिरहेको छ ।

त्यसको प्रत्यक्ष असर भने किसानलाई परेको छ । खैरहनी १० खरखुट्टेका यज्ञ वहादुर आचार्य अहिले सम्मकै ठुलो असिनापानी परेको वताउँछन् । असिनापानीले आफुले लगाएको ३० कठ्ठाको तरकारी पूर्ण रुपमा नष्ट भएको आचार्यले गुनासो पोखे । लकडाउनले समस्यामा त थियौ,असिनापानीले समेत असर गर्यो किसान आचार्यले भने ” एकैछिनको असिनापानीले सवै तरकारी सखाप वनायो ।”

अहिले सम्म यस्तो असिनापानी नव्यहोरेको उनले सुनाए । उनले तरकारी खेतीका लागि झण्डै ३ लाख रुपैया लगानी गरेका छन् । खेतीको उनले बीमा गरेका थिएनन् । खैरहनी १० खरखुट्टेमा अहिले करेला,चिचिण्डा,लौका, गोलभेडा ,खरवुजा,भिण्डीको खेती गरिएको छ । खैरहनी वडा नम्वर १० मा मात्रै करिव नौ विगाहामा खरवुजो खेती गरिएको छ । चुरियामाई कृषि तथा पशु फर्म मार्फत पहिलो पटक २७ कठ्ठामा खरवुजो खेती गरेका माधव प्रसाद अर्याल खेती पूर्ण रुपमा नष्ट भएको वताउँछन् ।

अर्यालसंगै उत्तम कर्मचार्य र राजन गिरीले २७ कठ्ठामा खरवुजो खेती गरेका हुन् । मुखमा आएको वाली क्षणभरमै नष्ट भयो किसान अर्यालले भने – पहिलो वर्षमै प्रकृतिले पनि ठग्यो । क्षती नभएको भए २० लाख रुपैयाको आम्दानी हुने अर्का किसान उत्तम कर्मचार्यले वताए । खरखुट्टेकै किसान सिताराम अर्यालको गोलभेडा र फर्सी खेतीमा पनि असिनापानीले क्षती पुर्याएको छ । ९ कठ्ठाको गोलभेडा र ६ कठ्ठामा लगाईएको फर्सीमा क्षती पुगेको किसान अर्यालले वताए । खरखुट्टे मात्रै अन्दाजी ३० विगाहा क्षेत्रफलमा तरकारी खेती गरिएको छ ।

तरकारी मात्रै होईन् असिना पानीले मकै खेतीमा पनि ठुलो क्षती पुर्याएको छ । खरखुट्टेकै किसान युवराज उप्रेतीले आफ्नो मकैवालीमा असिनापानीले उत्पादनै नहुने गरि क्षती पुर्याएको वताए । उप्रेतीले ३ विगाहामा मकै लगाएका छन् । यस क्षेत्रमा मकै मात्रै करिव २० विगाहामा लगाईएको छ । कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले जिल्लामा असिनापानी र हावाहुरीले पारेको क्षतीको बारे तथ्यांक संकलनको काम भईरहेकाले अहिलेनै यति क्षती भयो भन्न नसकिने वताए । लगातार तिन दिनदेखी असिना पानी परिरहेको छ, ढकालले भने – एक दिन एकतातिर अर्को दिन अर्को तिर असिनापानी परिरहेकाले स्थानीय पालिकालाई अनुरोध गरेर तथ्यांक लिईरहेका छौ । उनका अनुसार पूर्वी चितवनमा वढि क्षती भएको छ । तरकारी र केराखेतीमा अत्याधिक क्षती भएको उनले वताए । बीमा गरेकालाई सहजीकरण गरेर राहत दिलाउने र नगरेकाहरुको तथ्यांक संकलन गरेर जिल्ला दैवी प्रकोप तथा विपद व्यवस्थापन समितिमा पेश गरिने ज्ञान केन्द्र प्रमुख ढकालले वताए ।