क्वारेन्टाइनमा रहेको साथीलाई रक्सी पुर्याउन जादाँ चितवनमा एकजना पक्राउ

क्वारेन्टाइनमा रहेको साथीलाई रक्सी पुर्याउन जादाँ चितवनमा एकजना पक्राउ

बिकास पौडेल
चितवन , जेठ ८। 
देशभर कोरोना भाइरसको संक्रमित बढिरहेका छन् । बाहिरी जिल्ला तथा विदेशबाट आउनेहरुलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था हुदैँ आएको छ । देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा सामान्य आधारभूत सेवा सुविधा समेत नरहेको , राम्रो खाने बस्ने व्यवस्था नभएको गुनासो आइरहेको बेला चितवनमा भने क्वारेन्टाइनमा रहेकोलाई रक्सी नै दिने प्रयास भएको छ । क्वारेन्टाइनमा रहेका साथीले रक्सी मगाएपछि पुर्याउन गएका एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

चितवनको राप्ती नगरपालिकाको बुद्ध शान्ति मा वि मा रहेको क्वारेन्टाइनमा रहेका साथीलाई रक्सी पुर्याउन गएका राप्ती नगरपालिका वडा नम्बर ३ निवासी २५ बर्षिय कुमार थपलियालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी इश्वर सिंखडाले जानकारी दिए । उनलाई बुधबार बेलुका करिब ८ बजेतिर पक्राउ गरिएको प्रहरीले जनाएको छ । जेठ ३ गते सिरहाबाट चितवन आएका एकजना साथी क्वारेनटाइनमा बसेको र उनले रक्सी ल्याइदिन आग्रह गरेपछि थपलिया रक्सी लिएर गएका थिए । उनीमाथी थप अनुसन्धान भइरहेको छ ।